Dhulikhel Eco Banner new

भारी वर्षाबीच नाइमा एक्स्पोमा भीड

416
shares

काठमाडौं, २९ साउन । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। एक्स्पोको तेस्रो दिनसम्म ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्।

पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ। एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् भने हालसम्म ५२ नयाँ मोडल सार्वजनिक भइसकेका छन्।

मेलामा १६–१७ लाख रुपैयाँदेखि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारीसाधन उपलब्ध छन्। विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनमा विशेष आकर्षण देखिएको छ। दुईपाङ्ग्रे सवारीसाधनका महँगा ब्रान्डतर्फ युवाको चासो पनि उल्लेख्य रहेको आयोजकले जनाएको छ।

अवलोकनकर्ताले विशेषगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालूबारे जानकारी लिइरहेका छन्। ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्य छुट, एक वर्षको बिमा, सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन्।

एक्स्पोमा ‘नाइमा मोबिलिटी संवाद’ अन्तर्गत वित्त, बिमा र मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल भइरहेको छ। बिहीबार ‘वित्त र बीमाका माध्यमबाट गतिशीलताको प्रवर्द्धन’ विषयमा विज्ञहरूबीच छलफल भएको थियो।

दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो ६ दिनसम्म चल्नेछ। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको छ।