Dhulikhel Eco Banner new

अटो कर्जा बढ्दै, जोखिम व्यवस्थापन र बीमा दाबी सहज बनाउन सरोकारवालाको जोड

377
shares

काठमाडौं, २९ साउन । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, बीमा दाबीको सहज फर्छ्योट र ग्राहकलाई सरल रूपमा कर्जा उपलब्ध गराउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी संवाद’मा सहभागी सरोकारवालाले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले बैंकिङ प्रणालीमा कर्जाको जोखिम न्यूनीकरणका लागि लोन टू भ्यालु (एलटीभी) अनुपात महत्वपूर्ण रहेको बताए। उनका अनुसार हाल हायर पर्चेज कर्जामा विद्युतीय सवारीसाधन (ईभी) का लागि ८० प्रतिशत र आन्तरिक दहन इन्जिन (आईसीई) सवारीका लागि ६० प्रतिशतसम्म एलटीभी कायम गरिएको छ।

उनले ब्याजदर बढ्दा ऋणीलाई समस्या पर्न सक्ने भएकाले पनि एलटीभी अनुपात आवश्यक रहेको बताए। कर्जा डिफल्ट बढेमा आयातकर्ता, ऋणी र ऋणदाता सबै प्रभावित हुने भएकाले जोखिम व्यवस्थापनमा राष्ट्र बैंक सचेत रहेको उनको भनाइ थियो।

सुवेदीका अनुसार हाल कुल करिब ६० खर्ब रुपैयाँ कर्जामध्ये १ खर्ब ४२ अर्ब रुपैयाँ हायर पर्चेज कर्जाको हिस्सा छ। हायर पर्चेज कर्जा गत वर्षको तुलनामा करिब १० प्रतिशतले बढेको उनले जानकारी दिए। खराब कर्जा कम रहेकाले बैंक तथा वित्तीय संस्थाहरू यस क्षेत्रमा तुलनात्मक रूपमा सहज रूपमा कर्जा दिन तयार रहेको उनले बताए।

त्यस्तै, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबीमा समस्या हुने भाष्य बने पनि आवश्यक प्रमाण र प्रक्रिया पूरा गरे दाबी फर्छ्योट सहज हुने बताए।

क्षतिको सही विवरण तथा आवश्यक कागजात पेस गरेमा बीमा दाबी पारदर्शी रूपमा फर्छ्योट गर्न सकिने उनको भनाइ छ। बीमा प्राधिकरणले दाबी छिटो भुक्तानी गर्ने विषयमा निर्देशन दिँदै आएको भन्दै उनले दाबी प्रक्रिया कुन चरणमा पुगेको छ भन्ने जानकारी ड्यासबोर्डमार्फत देखाउने व्यवस्था आवश्यक रहेको बताए।

पन्तले ईभीको बीमामा ब्याट्रीतर्फ डिप्रिसिएसनसम्बन्धी व्यवस्था रहेको उल्लेख गर्दै ब्याट्रीको बीमामा ५० प्रतिशतसम्म मात्र डिप्रिसिएसन कटौती हुने जानकारी दिए।

हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बैंकसम्म पुग्न नसक्ने तथा सानो कर्जा आवश्यक पर्ने ग्राहकलाई हायर पर्चेज कम्पनीले लक्षित गर्दै आएको बताए। उनका अनुसार हायर पर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन्, जसमध्ये पछिल्लो कर्जा प्रवाहमा ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइलमा गएको छ।

हायर पर्चेज कम्पनीमार्फत केही घण्टामै कर्जा उपलब्ध गराउन सकिने भन्दै ठाकुरले बैंकिङ प्रक्रिया पूरा गर्न नसकेका वा साना कर्जा आवश्यक पर्ने ग्राहकका लागि यस्ता कम्पनी महत्वपूर्ण रहेको बताए। उनका अनुसार हायर पर्चेज ऋण लिने ग्राहकमा ४० वर्षभन्दा कम उमेर समूहको हिस्सा करिब ६० प्रतिशत छ।

ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले पनि अटो कर्जा लिने ग्राहकको उमेर घट्दै गएको बताए। उनका अनुसार स्थिर आम्दानी भएका युवा तथा महिलाको सहभागिता अटो फाइनान्सिङमा बढिरहेको छ।

काठमाडौं केन्द्रित अटो कर्जा विस्तार पछिल्लो समय देशका अन्य सहरतर्फ पनि फैलिँदै गएको उनले बताए। आवश्यक कागजात पूरा भएका ग्राहकलाई बैंकले छोटो समयमै कर्जा उपलब्ध गराउन सक्ने भन्दै उनले हायर पर्चेज कम्पनीमार्फत कर्जा प्रवाह गर्दा बैंकको जोखिम व्यवस्थापनमा समेत सहज हुने धारणा राखे।