Dhulikhel Eco Banner new

सेबोन जर्नलको १३औं अंकका लागि शोधपत्र आह्वान

728
shares

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्नो वार्षिक प्रकाशन ‘सेबोन जर्नल’ को १३औं अंक का लागि शोधपत्र आह्वान गरेको छ। धितोपत्र बजार, वस्तु डेरिभेटिभ बजार, वित्तीय अर्थशास्त्र तथा मौद्रिक अर्थशास्त्रसँग सम्बन्धित विषयमा अनुसन्धानकर्ताले लेख पठाउन सक्ने बोर्डले जनाएको छ।

सेबोनका अनुसार जर्नलमा पठाइने शोधपत्र यसअघि अन्यत्र प्रकाशित भएको वा प्रकाशन प्रक्रियामा रहेको हुनुहुँदैन। शोधपत्रको लम्बाइ सन्दर्भसूचीबाहेक ४ हजारदेखि ८ हजार शब्दसम्म हुनुपर्नेछ।

शोधपत्र बुझाउने अन्तिम मिति १६ नोभेम्बर २०२६ अर्थात् कात्तिक मसान्त तोकिएको छ। लेखमा ३०० शब्दभन्दा कमको सारांश, बढीमा पाँच वटा मुख्य शब्द (किवर्ड) र सम्बन्धित जेईएल वर्गीकरण समावेश गर्नुपर्नेछ।

बोर्डले शोधपत्रलाई डबल–ब्लाइन्ड पियर रिभ्यु प्रक्रियाबाट मूल्यांकन गर्ने जनाएको छ। त्यसका लागि मूल पाण्डुलिपिमा लेखकको नाम वा पहिचान खुल्ने विवरण हटाउनुपर्नेछ। लेखकको नाम, संस्थागत आबद्धता, इमेल तथा सम्पर्क नम्बर भने छुट्टै पृष्ठमा राख्नुपर्ने व्यवस्था गरिएको छ।

लेख तयार गर्दा एपीए सातौं संस्करणको सन्दर्भ शैली प्रयोग गर्नुपर्नेछ। तालिका र चित्र छुट्टै पृष्ठमा राख्नुपर्ने तथा तिनलाई रोमन अंकमा क्रमबद्ध गर्नुपर्ने सेबोनले जनाएको छ।

शोधपत्र ‘टाइम्स न्यू रोमन’ फन्टको १२ साइज र १.५ लाइन स्पेसिङमा वर्ड फाइलका रूपमा तयार गर्नुपर्नेछ। तयार पाण्डुलिपि [email protected] मा विद्युतीय माध्यमबाट पठाउन सकिने बोर्डले जनाएको छ।

सेबोनले पुँजीबजारसँग सम्बन्धित अनुसन्धान र नीतिगत बहसलाई विस्तार गर्ने उद्देश्यले हरेक वर्ष पियर–रिभ्यु जर्नल प्रकाशन गर्दै आएको छ। यसपटक पनि प्राज्ञ, अनुसन्धानकर्ता, शिक्षक तथा बजारसँग सम्बन्धित व्यवसायी र अभ्यासकर्तालाई शोधपत्र पठाउन आग्रह गरिएको छ।