Dhulikhel Eco Banner new

सन नेपाल लाइफद्वारा बागमतीका उत्कृष्ट अभिकर्ता सम्मानित

273
shares

काठमाडौं, भदौ ३। सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।

भक्तपुरको राधे–राधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित कार्यक्रममा बागमती प्रदेशअन्तर्गत विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, एमडीआरटी अचिभर्स, शाखा प्रमुख तथा कर्मचारीको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी तथा क्षेत्रीय प्रबन्धकहरू सनत सत्याल, मुरारीप्रसाद तिवारी र आलोक खड्कालगायतको उपस्थिति थियो। कार्यक्रमको स्वागत मन्तव्य क्षेत्रीय प्रबन्धक आलोक खड्काले गरेका थिए।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। साथै, एमडीआरटी हासिल गर्न सफल अभिकर्तालाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बजार अधिकृत गणेश चौलागाईंले बागमती प्रदेशका अभिकर्ताले कम्पनीको व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा पनि अभिकर्ताले उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै कम्पनीले अभिकर्तामैत्री विभिन्न कार्यक्रम, योजना तथा प्रोत्साहनमूलक स्किम सञ्चालन गर्दै आएको बताए।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले आफ्नो छुट्टै पहिचान र व्यवसायिक छवि निर्माण गर्न सफल भएको उल्लेख गर्दै त्यसको महत्वपूर्ण श्रेय सम्पूर्ण अभिकर्ता तथा एजेन्सी सञ्जालको मेहनत, लगनशीलता र योगदानलाई जाने बताए।

उनले बागमती प्रदेश जीवन बीमा व्यवसाय विस्तारका दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै अभिकर्ताको सक्रियता र नेतृत्व क्षमताले कम्पनीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। आगामी दिनमा अभिकर्तालाई थप सशक्त, सक्षम र व्यावसायिक बनाउँदै कम्पनीको यात्रालाई अझ मजबुत बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कार्यक्रमले अभिकर्ताबीच आपसी सम्बन्ध विस्तार, नेतृत्व विकास, उत्प्रेरणा तथा व्यवसायिक क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको सहभागीले बताएका छन्।

सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले अभिकर्ता सञ्जाललाई थप सशक्त बनाउँदै बीमाको पहुँच विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राखेर आफ्नो सेवा विस्तारलाई निरन्तरता दिँदै आएको छ।