एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १०:३४
shares

काठमाडौं,१२ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक त्रिवि क्रिकेट मैदानभित्र मात्रै सीमित छैन । मैदानबाहिर पनि क्रिकेटप्रेमीको चहलपहल उत्तिकै छ । कोही आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न मैदान पुगिरहेका छन् त कोही यही माहोललाई आम्दानीको अवसर बनाइरहेका छन् । यस्तै, मैदानबाहिर झण्डा र स्टिकर बेचिरहेका भेटिन्छन् सन्देश गुभाजु ।
सन्देश मैदानमा आउने दर्शकलाई झण्डा र स्टिकर बेचिरहेका छन् । उनको व्यापार क्रिकेटप्रतिको दर्शकको उत्साहसँग जोडिएको छ । तर, यसपटकको व्यापार भने सोचेजस्तो राम्रो हुन सकेको छैन ।
‘मेरो नाम सन्देश गुभाजु हो,’ उनी आफ्नो परिचय दिँदै भन्छन्, ‘यसपटकको व्यापार भने सोचेजस्तो राम्रो हुन सकेको छैन ।’
एनपीएलमा सहभागी टोलीमध्ये सन्देशको समर्थन विराटनगर किङ्सलाई छ । आफू व्यापारका लागि मैदानबाहिर रहे पनि उनको मन भने आफूले समर्थन गर्ने टोलीतिरै छ । ‘म खासमा विराटनगर किङ्सको समर्थक हुँ। विराटनगर किङ्सलाई नै सपोर्ट गर्न चाहन्छु,’ उनी भन्छन् ।
मैदानबाहिर व्यापार गर्न भने सहज छैन । साँघुरो बाटो र बिक्रीका लागि पर्याप्त सुविधा नहुँदा उनलाई समस्या हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसपटक व्यापार पनि राम्रो नभएको उनको अनुभव छ ।
‘बेच्नलाई खासै सुविधा छैन । बाटो पनि साँघुरो छ । ठिकै भइरहेको छ, तर पोहोरजस्तो राम्रो भएको छैन,’ सन्देश सुनाउँछन् ।
उनले साना स्टिकर १५० रुपैयाँमा बिक्री गर्छन् भने ठूला स्टिकरको मूल्य ३०० देखि ३५० रुपैयाँसम्म पर्छ । खेल सुरु भएको तीन दिनसम्ममा उनले करिब १५ देखि २० वटासम्म सामग्री बिक्री गरेका छन् । सीमित बिक्रीले उनको व्यापारको अवस्था झल्काउँछ ।
सन्देश आफैँले झण्डा र स्टिकर उत्पादन गर्दैनन् । उनी अन्यन्त्रैबाट सामग्री ल्याएर मैदानबाहिर बिक्री गर्छन् । बिक्रीबाट हुने आम्दानीमध्ये केही रकम आफूलाई राखेर बाँकी हिसाब मिलाउने गरेको उनी बताउँछन् ।
उनले भने, ‘सानोलाई चाहिँ १५० मा बेचिरहेको छु । ठूलोलाई ३०० देखि ३५० सम्म बेचिरहेको छु । तीन दिन भयो १५–२० वटा जति मात्र बेचें ।’
यो व्यापार उनका लागि आम्दानीको एउटा माध्यम हो । तर, व्यापार सँधै एकनास हुँदैन । विशेषगरी चर्को घाममा बसेर ग्राहकको प्रतीक्षा गर्नु पर्दा कठिनाइ हुने गरेको छ । दर्शकको भीड, खेलको माहोल र बिक्रीको सम्भावनासँगै उनले घाम र असहज परिस्थितिसँग पनि जुध्नुपर्छ ।
एनपीएलले खेलाडी र टोलीलाई मात्रै होइन, मैदानबाहिर साना व्यापार गर्नेहरूलाई पनि अवसर दिएको छ । तर, त्यो अवसरबाट कति आम्दानी हुन्छ भन्ने कुरा दर्शकको चहलपहल र बिक्रीमा निर्भर रहन्छ ।
त्रिवि क्रिकेट मैदानबाहिर झण्डा र स्टिकर बेचिरहेका सन्देश गुभाजुका लागि एनपीएल आफ्नो व्यापार चलाउने अवसर हो । मैदानभित्र विराटनगर किङ्सप्रतिको समर्थन र मैदानबाहिर ग्राहकको प्रतीक्षा उनको दिनचर्या अहिले यिनै दुई पक्षबीच बितिरहेको छ ।




















