नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशत बढेर १ अर्ब ८२ करोड रुपैयाँ पुग्यो
वि.सं.२०८३ मंसिर १ मंगलवार १४:०७
shares

काठमाडौं, १ मंसिर । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको खुद नाफा ३७.३५ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको करारबाट प्राप्त सञ्चालन आम्दानी भने सामान्य घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीको कुल आम्दानी भने गत वर्षको ९ अर्ब ४७ करोड १० लाख रुपैयाँबाट बढेर ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कुल आम्दानी ०.०७ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको करअघिको नाफा गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यसअनुसार करअघिको नाफा ३.६५ प्रतिशतले वृद्धि भएको छ।
तर, ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन मुनाफा (EBITDA) भने घटेको छ। गत वर्षको सोही अवधिमा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ रहेको यस्तो मुनाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। यो ६।१३ प्रतिशतको गिरावट हो।
कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ। जगेडा तथा कोषमा ८४ अर्ब १७ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।
वित्तीय सूचकअनुसार कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ४० रुपैयाँ ४५ पैसा कायम भएको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ ५६७ रुपैयाँ ६५ पैसा र प्रतिशेयर कुल सम्पत्ति ७७० रुपैयाँ १८ पैसा रहेको छ। कम्पनीको तरलता अनुपात २.६५ गुणा रहेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा नेपाल टेलिकमको खुद नाफा र करअघिको नाफा बढेको छ भने सञ्चालन आम्दानी सामान्य घटेको र ईबीआईटीडीएमा पनि कमी आएको छ।
















