Dhulikhel Eco Banner new

झापा जोड्ने कन्काई पुल चार महिना अगावै निर्माण सम्पन्न

1.08K
shares

काठमाडौं, १० मंसिर । झापाको शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकालाई जोड्ने कन्काई नदीमाथिको पुल निर्धारित समयभन्दा करिब चार महिना अगावै निर्माण सम्पन्न भएको छ। शिवगञ्ज पुरानो बजार–पूर्व पछुवाडा बजार–झापा जोड्ने उक्त पुलमा २०८३ असार अन्तिमदेखि नै यातायात सञ्चालनमा आइसकेको छ।

सडक विभागसँग शर्मा एण्ड कम्पनीले २०७९ पुस ११ गते ठेक्का सम्झौता गरी पुल निर्माणको जिम्मेवारी लिएको थियो। डिजाइन एण्ड बिल्ड मोडलमा सम्झौता भएको आयोजनाको निर्माण कार्य भने २०८० फागुन १० गतेदेखि सुरु गरिएको कम्पनीका सञ्चालक रमेश शर्माले जानकारी दिए।

उनका अनुसार निर्माण सुरु हुनुअघि तीन महिनाभित्र डिजाइन तयार गर्नुपर्ने भए पनि सडक विभागले डिजाइन अन्तिम रूप दिन नौ महिनाभन्दा बढी समय लगाएको थियो। ४२ महिनाको सम्झौताअनुसार निर्माण व्यवसायीले डिजाइनका लागि ६ महिना र सडक विभागले दुई महिना समय खर्च गर्ने तथा बाँकी ३४ महिनामा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर, कम्पनीले करिब ३० महिनामै पुल निर्माणको मुख्य काम सम्पन्न गरेको शर्माले बताए। पुलमा अहिले रङरोगन तथा एप्रोच सडक निर्माणको काम भइरहेको छ।

पुलको कुल लम्बाइ ७१५ मिटर रहेको छ। यसको लागत भ्याट र पीएससहित १ अर्ब १२ करोड ५२ लाख ८२ हजार रुपैयाँ रहेको छ।

शर्माले निर्माणका क्रममा थप भार आफूहरूमाथि परे पनि लामो अनुभव र साहसका साथ काम सम्पन्न गर्न सफल भएको बताए। असार मसान्तदेखि नै सवारीसाधन सञ्चालनमा आइसकेकाले पुल हस्तान्तरणसरह भइसकेको उनको भनाइ छ।

उनले भने, ‘समयमै सकिएकोमा चौतर्फी जुन कुरा भएको छ, त्यसले मलाई हौसला दिएको छ। हामीले ४२ महिनाको सम्झौता गरेका थियौँ। ६ महिना निर्माण व्यवसायीले डिजाइनमा खर्च गर्ने, दुई महिना सडक विभागले खर्च गर्ने र ३४ महिनामा पुल सक्ने भनिएको थियो। हामीले करिब ३० महिनामा पुल निर्माणको काम सकेका छौँ। जुन तरिकाले पुल समयमा सकियो, त्यसमा लामो अनुभवका कारण सफल भएका हौँ।’

सबैतिरबाट सहयोग प्राप्त भए कुनै पनि आयोजना अढाइ वर्षभित्र सम्पन्न गर्न सकिने शर्माको भनाइ छ। उनले विकास निर्माणका काम समयमै सम्पन्न गर्न आवश्यक बजेट समयमै विनियोजन हुनुपर्नेमा पनि जोड दिए।