Dhulikhel Eco Banner new

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकाशे पुल निर्माण हुँदै

1.73K
shares

काठमाडौं, १० मंसिर । काठमाडौं महानगरपालिकाले वीर अस्पतालका पुरानो र नयाँ भवनलाई जोड्ने गरी लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने भएको छ।

उक्त परियोजनाको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन्। पुल निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागत लाग्ने र आगामी वर्षको नोभेम्बर मध्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आकाशे पुलका दुवै छेउमा लिफ्ट जडान गरिनेछ। यसबाट अस्पतालका बिरामीलाई बेडसहित एक भवनबाट अर्को भवनमा लैजान सहज हुनेछ।

वीर अस्पतालका पुरानो र नयाँ भवनको बीचबाट महाबौद्ध जाने मुख्य सडक रहेको छ। जसका कारण अस्पतालको मेडिकल वार्डबाट सर्जिकल वार्डमा बिरामी लैजानुपर्दा सडक पार गर्नुपर्ने बाध्यता छ।

आकाशे पुल र लिफ्ट सञ्चालनमा आएपछि बिरामीलाई सडक पार गराउनुपर्ने अवस्था अन्त्य हुनेछ। राष्ट्रिय समाचार समिति (रासस)का अनुसार काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले पुलका दुवै छेउमा अस्पताल परिसरभित्रै सिँढीसमेत निर्माण गरिने जानकारी दिएका छन्।