Dhulikhel Eco Banner new

एचआईभी/एड्सविरुद्ध जनचेतना फैलाउन पीएचएफ नेपालको सांगीतिक कन्सर्ट

1.17K
shares

काठमाडौं, १० मंसिर । एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पीएचएफ नेपालले विश्व एड्स दिवसको अवसरमा ‘विश्व एड्स दिवस सांगीतिक कन्सर्ट २०२६’ आयोजना गर्ने घोषणा गरेको छ।

एचआईभी हेल्थ केयर फाउन्डेसन (पीएचएफ) नेपालले मंगलबार काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको स्वर्णिम हलमा पत्रकार सम्मेलन गरी आगामी डिसेम्बर १ मा सांगीतिक कन्सर्ट आयोजना गर्ने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा पीएचएफ नेपालका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले आगामी कन्सर्टको उद्देश्य र महत्त्वबारे जानकारी गराएका थिए। कार्यक्रमको व्यवस्थापन तथा सञ्चार समन्वयको जिम्मेवारी मार्स एड्भर्टाइजिङ एण्ड रिसर्च प्रालिले लिएको छ।

आगामी डिसेम्बर १, २०२६ मा आयोजना हुने उक्त कन्सर्टले संगीत र मनोरञ्जनलाई अर्थपूर्ण सामाजिक सन्देशसँग जोड्दै एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

सांगीतिक प्रस्तुतिसँगै कार्यक्रममार्फत समयमै एचआईभी परीक्षण गर्न प्रोत्साहित गर्ने, उपचारको महत्त्वबारे जानकारी फैलाउने तथा एचआईभी संक्रमित व्यक्तिहरूका लागि सहयोगी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ।

कन्सर्टमा सहभागी हुन इच्छुकले खल्ती (Khalti) एपमार्फत निःशुल्क नाम दर्ता गर्न सक्नेछन्। यसबाट सहभागीहरूलाई सहज रूपमा दर्ता प्रक्रिया पूरा गरी सांगीतिक कार्यक्रम तथा जनचेतनामूलक अभियानमा सहभागी हुन मद्दत पुग्ने आयोजकले जनाएको छ।

यस अभियानले एचआईभी/एड्ससँग जोडिएका सामाजिक लाञ्छना र भेदभावविरुद्ध एकजुट हुनुपर्ने आवश्यकतामा समेत जोड दिएको छ। संगीत, जनसहभागिता र चेतनामूलक गतिविधिमार्फत खुला संवादलाई प्रोत्साहन गर्ने, गलत धारणाहरू पहिचान गर्ने तथा थप सुसूचित र समावेशी समाज निर्माणका लागि सामूहिक जिम्मेवारीको भावना जगाउने लक्ष्य पीएचएफ नेपालले राखेको छ।

सांगीतिक कन्सर्टमार्फत कलाकार, दर्शक र आम समुदायलाई एउटै स्थानमा जोड्दै मनोरञ्जन, जनचेतना र पैरवीको संयोजनमा विश्व एड्स दिवस मनाइने आयोजकले जनाएको छ।