Dhulikhel Eco Banner new

के देखियो प्रहरीले बुझाएको सीसीटीभीको ‘फरेन्सिक रिपोर्ट’ मा ?

4.71K
shares

काठमाडौं, १० साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिलाई प्राप्त भएको सीसीटीभीको फरेन्सिक रिपोर्ट विश्लेषण गर्न विज्ञ बोलाइने भएको छ । आज बिहान बसेको समितिको बैठकले विज्ञबोलाउने र साँझ पुनः बैठक बस्ने भएको हो ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्न विज्ञलाई बोलाउन लागेको हो । सोमबार प्रहरीले पठाएको सीसीटीभीको फरेन्सिक रिपोर्ट मंगलबार विहान बसेको छानबिन समितिको बैठकमा प्रस्तुत गरिएको थियो । उक्त बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेका थिए ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो ।

असार २२ मा गठन भएको छानबिन समितिले २८ गते काम सुरु गरेको थियो । समितिले साउन १२ गतेभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्छ । ११ सदस्यीय समितिलाई शुरुमा १० दिनको समय दिइए पनि अनुसन्धानमा समय अपुग भएको भन्दै ७ दिन समय थप गरिएको थियो ।