आलुमा ‘बि फोर’ भन्ने ढुसी रोग आको छ रे ! (व्यंगात्मक लघु कथा)
वि.सं.२०७९ साउन ११ बुधवार १३:३०
shares

जंगे र जंगेंका बा हडबडे पिंडीमा बसेर गनगन गरिहेका थिए । जंगेले बालाई सोध्यो, बा यसपाली कुन कुन खेतमा के के बाली लगाउने ?
हेर जंगे अरु ठाउंमा जे जे लगाए पनि माथिको ठूलो नेपाले लामपाटामा भने गणतन्त्रे आलु लगाउनु पर्छ, हडबडेले जवाफ दिए । अनि आलुको बीउ काहांबाट ल्याउने नि ? जंगेले बालाई सोध्यो । हेर जंगे, गाउंमा गणतन्त्र भएपछि गणतन्त्रे आलुको बीउपनि आफ्नै घरमा होला ।
डालो, चिन्डो, भकारी सबै ठाउंमा राखेको आलु मध्येबाट छान न । छिंडी, चोेटो, बार्दली र बुईगल सबैतिर हेर । त्यसो गर्दा पनि नभए वा नपुगे छरछिमेकी काहांबाट खोजेर ल्याउनु पर्ला । बरु बीउ खोज्न थाली हाल्, आउंदो कार्तिक मंसिरमा त आलु रोप्नै पर्छ । माथिकाले पनि त्यसै भन्या छन । आलु नरोपे भोलीका दिनमा कसरी घर चलाउने ? के आम्दानी गर्ने ? कसरी तेरो विहे गर्ने, कसरी घरको छानो फेर्ने? ल भन त ! हडबडेले जंगेको मुख हेर्दै भने ।
अनि कार्तिक मंसिरमा रोप्ने आलुको वीउ अहिले नै किन छान्नु प¥यो बा ? जंगेले प्रश्न ग¥यो । होइन ए लाटा, अहिले नै हेरकोर नगरे, छामछाम छुमछुम नगरे, भोली रोप्नु परेको बेलामा मात्रै खोजेर हुन्छ ? त्यसमा पनि गण्तन्त्रे आलु, त्यसैले जा बरु अहिले नै थाली हाल्, आलु छान्न ।
बाको आदेश भए पछि जंगे पनि सिंडी तिर लाग्यो । थुन्सेमा राखेको आलु मजेरीमा खन्याएर छाम छाम छुम् छुम गर्न थाल्यो । जति छाम्छ, आलु त झन् झन् गीला, ढुंडी परेका । पुरा थुन्सेबाट एक पाथी आलु पनि निकाल्न सकेन जंगेले । बरु जंगेको हात पो नाकै थुन्नु पर्ने गरी गन्हायो । अनि हडबडेलाई करायो र भन्यो बा ! थुन्सेको आलु त सबै ढुसी परेर कुहि पो सकेछ त ! अब के गर्ने होला ? उताबाट जंगेका बा कराए, होइन के भन्छ यो, काम नैे नलाग्ने गरी कुहिएछ ? कसरी कुहिएछ त ? जंगेले भन्यो अस्ति माथ्ला घरे साईंलाले भन्दै थे, आलुमा बि फोर भन्ने ढुसी लाग्ने रोग आको छ रे, त्यसैले होला बा । हडबडेले सोधे होेइन यो बि फोर भन्ने कस्तो रोग रहेछ ? हडबडेको स्वर अलि आत्तिए जस्तो थियो ।
त्यतिकैमा आंगनमा जिज्ञासा मास्टर देखा परे । हडबडेको कुरा सुनेर जिज्ञासा सरले भने, कुन रोगको कुरा गरेको हडबडे दाई ? हडबडेले हडबड गर्दै भने, जंगे आलुमा बि फोर भन्ने रोग लाग्यो भन्छ, त्यो भनेको के हो भनेर सोधेको । ए !, भनेर लेग्रो तान्दै जिज्ञासा सरले भने, हो १ त्यो महारोगनै हो, त्यो आलुमा मात्रै हो र, धेरै कुारमा लागेको छ ।
सडकमा लागेको छ, नहरमा लागेको छ, भवनमा लागेको, सुनमा र नुनमा सबैमा छ, कति कति ! फेरी हडबडे चिच्याए, अनि के भन्या त त्यो ? जिज्ञासा मास्टरले जवाफ दिंदै भने, यो भ्रस्टाचार नामक रोग हो क्या, बैज्ञानिकहरुले यसलाई राज्यका चारै अंगमा फैलिने हुंदा यसलाइ बि फोर (चार) जातिको भाइरसबाट फैलिने रोग भन्छन्, क्या ।
त्यस पछि जंगेले चोटो, बार्दली र बुइगल सबैतिर राखेको आलु हे¥यो, बीउ लायक आलु फेला पार्न सकेन । कुनै पुरै कुहिएका, कोहि अधकल्चा र कोहि एकदुइ महिनामै कुहिने खालका । कुनै आलुमा बि फोर, कुनैमा सि फोर (कमिसन) र डि फोर (दुराचार), कुनैमा एम फोर (माफिया) रोग लागेको रहेछ । अनि भुईंमा थचक्क बसेर पुर्पुरोमा हात राख्दै जंगेले भन्यो, बीउ सद्देनै होला भनेको त सखाप भैसकेछ ।
जंगेको घरको यो कुरा गाउंभरी फैलियो । गाउंले सबैले आफ्नो आलुको जांच गरे । कसैले पनि आफ्नै भण्डारबाट चाहिने जति काम लाग्ने बीउ निकाल्न सकेनन्, हल्ली खल्ली मच्च्यिो । अनि गाउँको चौतारमा मानिसहरु भेला भए, बीउबारे छलफल भयो । कसैले अर्को गाउंमा बीउ खोज्न जाने कुरा गरे । कसैले बिदेशबाट बिउ ल्याउनु पर्ने बताए । गाउंका बडेसभा बाको अध्यक्षतामा सभा बस्ने भयो र अर्को दिन सभा बस्यो । सभामा प्रधानबाले बीउ विदेशबाटै ल्याउने कुरा गरे, विदेशी पनि बीउ जाती दिन तयार रहेको बताए । केहि गाउंलेले त्यसको विरोध गरे । कतिले जे भएपनि भएकैंबाट बीउ छान्नु पर्छ भने ।
अनि कतिले कम कुहिएको भयो भने एउटा छेउबाट उम्रीहाल्ला, विदेशबाट आएको बीउले राम्रो नगर्ला, फलाईमा झुक्क्याउला, जरा रित्तै बस्ला, बरु गोडमेल गरौंला, गोबर गाउंतको औषधि हालौला, गाउंकै बीउ प्रयोग गरौं भने । तर प्रधानबाले विदेशबाट रंगीचंगी बीउ झिकाउने प्रस्ताव हाली हाले । हर्के, सिन्के, मोटे र मसिनेले त्यसको पक्षमा वकालत गरे । केहि गाउंले यस्तो गाउं बिगारा छलmपलमा बस्तैनौ भनेर भेला छोडेर हिंडे ।
त्यसपछि, बडेसभा बाले चौतारोमा उभिएर गाउंलेलाई भने, गाउंले हो ! हुन्छ भन्नेले हुन्छ भन, हुन्न भन्नेले हुन्न भन । केहि गाउंले ताली पनि पिट्दै अम्लो ठड्याएर हुन्छ भने र केहिले मुन्टो दायांबांया हल्लाउंदै हुन्न भने । हल्ला खल्ला सुनियो । बडेसभा बाले, हुन्छ भन्ने गाउंलेको संख्या बढि देखिएकाले छिमकी देशहरुका साथै युरोप, अमेरिका, अफ्रिका सबै ठाउंबाट आलुको बीउ झिकाउने प्रस्ताव पारित भएको घोषणा गरे ।अहिले जंगे, हडबडे, सिन्के, भैरे सबै विदेशबाट आएको आलुको रंगीचंगी बीउको पखाईमा छन् ।
कथा सकियो, सुन्नेलाई सुनको माला भन्नेलाई भन्टाको माला, पढ्नेलाई पीरको माला, गाउंलेलाई चंगीचंगी बीउको माला ।

















