पाँच वर्षमुनिका बच्चामा कान पाक्ने समस्या बढी
वि.सं.२०७९ भदौ २७ सोमवार १२:४४
shares

काठमाडौं, २७ भदौं । टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उनका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो ।
“पहिलो बच्चा हुर्काउँदा पनि काम पाकेर हैरानी भयो, जतिपटक रुघाखोकी लाग्थ्यो, त्यतिपटक बच्चाको कान पाक्ने समस्या पनि हुन्थ्यो”, “दोस्रो बच्चा हुर्काउँदा धेरै सचेत थिए । दोस्रो बच्चा पनि कान पाकेर दुःख पाएँ ।” उनका बच्चाको कान पाक्ने समस्या लामो उपचारपछि निको भएको उनि बताउछिन् । “अहिले बच्चा ठूला भए, उनीहरूमा समस्या छैन”, “अहिले पनि नुहाउँदा कानमा रुइ हालेर नुहाउने, नदी खोलामा ननुहाउने, रुघाखोकी लागेमा तुरुन्तै उपचारमा जानेजस्ता कार्य गर्छौँ ।”
टीकापुरकै सुधा विकको बच्चा अहिले एक वर्षको छ । उनको बच्चा छ महिनाको भएदेखि बच्चाको कान पाक्ने समस्या छ । बच्चालाई रुघा लागेको समयमा बच्चाको कान पाक्छ । उपचार गरे निको हुन्छ, फेरि पाक्ने समस्याले सताएको उनको भनाइ छ । “बच्चा बिरामी भएका बेला निकै दुःख हुन्छ, अझ कान पाकेका बेला बच्चा कान समातेर निकै रुन्छ”, “सरसफाइ र स्याहारमा ध्यान दिँदादिँदै पनि बच्चालाई कान पाक्ने समस्या भयो ।”
उनि कतिपयले दूध चुसाउँदा सुतेर खुवाउन नहुने, कानमा दूध वा पानी पसेमा पाक्छ भनेकाले आफू सतर्कता अपनाउँदा–अपनाउँदै पनि समस्या भएको बताउछिन् । बालबालिकामा विभिन्न समस्या देखिन सक्छन् । साना बालबालिका ठूला बालबालिकाका तुलनामा बढी बिरामी हुन्छन् ।
बच्चामा रुघाखोकी लागेपछि त्यही पाइप हुँदै कानमा सङ्क्रमण हुने भएकाले कान पाक्छ र त्यसैले दुखाइ हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुर बताउछन् । “सानो उमेरका बालबालिकालाई बढी रुघा लाग्ने भएकाले उनीहरुमा कान पाक्ने समस्या देखिन्छ”, उनि भनछन्, “बालबालिकालाई रुघा लाग्नेबित्तिकै उपचार गर्नुपर्छ । कान पाक्ने समस्या बारम्बार भयो र राम्रोसँग उपचार गरिएन भने ती बालबालिकाको कानको जालीमा प्वाल पर्नसक्छ ।” समस्यमै उपचार नपाए कानको जालीमा प्वाल परेपछि हरेकपटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुनसक्ने भएकाले सतर्कता आवश्यक रहेको उनि बताउछिन् ।

















