स्वास्थ्य र समाज सेवाका अहोरात्र खटिने डा. सुमन
वि.सं.२०७९ भदौ २७ सोमवार १२:५६
shares

काठमाडौं, २२ भदौ । मेडिकल डाक्टर सुमन कर्माचार्य बि.सं २०२१ साल कार्तिक २० गते गोवद्र्धन पुजाका दिन रामेछाप जिल्लाको साँघुटार बजारमा जन्मिएका हुन् । पिता ज्ञान बहादुर कर्माचार्य र माता सितादेवि कर्माचार्यका तेस्रा सन्तानका रुपमा उनले यो धर्तीमा पाइला टेके । उनी घरका माइला छोरा हुन् ।
कर्माचार्यले प्रारम्भिक शिक्षा गाउँ कै विद्यालयबाट सके । विद्यालय शिक्षा सके पछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए । उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट उच्च शिक्षामा प्रवेश गरे । चकित्सा शास्त्र अध्ययन संस्थानबाट उनले हेल्थ असिष्टेण्ट र त्रिभुवन विश्वविद्यालयबाट एम बि बि एस अध्ययन पुरा गरे । त्यस पछि कर्माचार्य पोखरा बिश्वबिद्यालय, नेशनल ओपन कलेजबाट हेल्थ केयर मनेजमेन्टमा स्नातकोत्तर शिक्षा हासिल गरे ।
उनी बिगत ३२ बर्ष देखि रामेछाप जिल्लाको स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएका छन् । कर्माचार्य आफ्नै गाउँको विद्यालय र हेल्थपोष्टमा काम गर्दै पेशागत रुपमा अघि बढे । उनी बिगत २७ बर्ष देखि तामाकोशी सेवा समितिको संचालक समिति सदस्य भएर काम गरिरहेका छन् । साथै तामाकोशी अस्पताल मन्थलीका उनी निर्देशक समेत हुन् ।

उनी अहिले विभिन्न सामुदायीक संस्थाहरुको विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको अध्यक्ष, सिन्धुपाल्चोक जिल्लाको बुडगाउँमा संचालित बुडगाउ मेडिकल सेन्टरका सल्लाहकारका रुपमा पनि उनी कार्यरत छन् ।
त्यस्तै पोखरा विश्वविद्यालय, नेशनल ओपन कलेजका सह–प्राध्यापक र स्वास्थ्य सेवा ब्यबस्थापन बिभागको सल्लाकारको भुमिका पनि उनले निभाइरहेका छन् । गाउँ गाउँमा निशुल्क स्वास्थ्य शिविर मार्फत लाखौँ गरिव जनताहरुको स्वास्थ्य सुधारमा लागि रहेका छन् । उनी तामाकोशी अस्पताल र बिभिन्न स्वास्थ्य संस्थाहरुमा राष्ट्रिय, अन्तराष्ट्रिय र स्थानीय दाताहरुबाट श्रोत जुटाउन सक्रिय छन् । यसका साथै उनी वि.सं २०७१ सालमा स्वास्थ्य खवर पत्रिकाबाट प्रदान गरिएको उत्कृष्ट चिकित्सक अवार्ड बाट सम्मानित भइसकेका छन् ।
कर्माचार्यलाई वि.सं २०६४ मा जिल्ला बिकास समिति रामेछापले उत्कृष्ट सेवा सम्मानबाट पुरस्कृत गरेको थियो । २०६० सालमा लायन्स क्लब इन्टरनेशनलले प्रदान गर्ने सालमा उत्कृष्ट सभापति सम्मान समेत कर्माचार्यले पाएका छन् ।
राजनीतिमा लोकतन्त्रका हिमायती भन्न रुचाउने उनी कलेजमा अध्ययन गर्दा स्वतन्त्र विदार्थी युनियनको अध्यक्ष हुँदै नेपाली कांग्रेसको महसमिति सदस्य समेत भए । सुमन कमाचार्य नेपाली कांग्रेसको साहित्य, खोजमुलक लेखहरु र गित संगितको विषयमा अहिले पनि योगदान दिइरहेका छन् । लोकतन्त्र र समाजबाद सम्बन्धी प्रशिक्षण दिने कार्य पनि कर्माचार्यको रुचीको विषय हो ।
बिद्यालयदेखि नै नाटक गीत संगितमा रुची भएका कर्माचार्य कुनै बेला सर्बनाम नाटय संस्थासँग सम्वद्ध भएर पनि काम गरे । उनले मृगतृष्णा नामको नाटकमा संगित निर्देशकको रुपमा समेत काम गरे । कलेज जीवनमा कर्माचार्यले विभिन्न नाटकहरुमा समेत अभिनय गरेका छन् । उनले अशेषमल्लद्धारा लिखित रामायणको अर्को पृष्ठ, तिमी नहासेपो मेरो घाउँ दुख्छ, मुर्दाबादमा उठेका हातहरु, हामी बसन्त खोजीरहेछौ, समाप्त असमाप्त आदि नाटकमा अभिनय गरेका छन् ।
उनमा नाकटको नसा विद्यालयमा अध्ययन गर्दै गर्दाको समय देखिनै थियो । उनले त्यसबेला बिजय मल्लको कोही किन बर्बाद होस् र गोपाल प्रसाद रिमालको मसान नाटकमा अभिनय गरेका थिए ।
सानै समयदेखि कविता लेखनमा रुची रहेका कर्माचार्यले २०६४ सालमा आयएर कविता संग्रह नै प्रकाशन गरे । उनले आत्माहरु बुद्ध भए…कविता संग्रह प्रकाशित गरे ।
२०७३ मा देश दुखेको बेला कविता संग्रह समेत बजारमा ल्याए । शब्दाकुंर, रचना, अभिब्यक्ति, शारदा लगायतका साहित्यिक पत्रिका उनका दर्जनौ कविताहरु प्रकाशित छन् । कान्तिपुर दैनिक, स्थानीय सप्ताहिक पत्रिका न्यु नयन, र बिभिन्न अनलाइनहरुमा उनका राजनैतिक र साहित्यीक, प्रजनन् र यौनका विषयमा जानकारी दिने किसिमका लेखहरु समेत प्रशासन भएका छन् ।
एम्नेष्टी इन्टरनेशनल, समुह १९ रामेछापका संस्थापक संयोजक र लायन्स क्लब इन्टरनेशनल रामेछाप काठमाडौंका संस्थापक अध्यक्ष कर्माचार्य हाल रोटरी क्लब इन्टनेशनल काभ्रे बनेपा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार तथा शान्ति समाज, नेपाल मेडिकल एशोसियसन, जगदीश घिमिरे प्रतिष्ठान, तामाकोशी पुस्तकालय, चुची इन्टरनेशनल मेडिकल एसोसिएसन जस्ता स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा सक्रिय रहेका छन् ।

















