Dhulikhel Eco Banner new

काभ्रेमा सहकारीको बीग मर्जर, सामुदायिक र युवा बचत सहकारी बीच मर्जर सम्झौता

7.83K
shares

काठमाडौं, ३० भदौ । काभ्रेमा बीग मर्जरको थालनी भएको छ । पनौती र बनेपामा रहेका दुई सहकारी संस्था बीच मर्जर सम्झौता भएसँग बीग मर्जरको थालनी भएको हो ।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपामा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था बीच मर्जर गर्ने सम्झौता भएको हो । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा मर्जरको सम्झौता भएको छ । सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

२०५१ साल माघ १४ गते स्थापना भई ९ वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पुँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र २०५३ साल भाद्र १५ गते स्थापना भई ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पुँजी रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले एक आपसमा मर्जर हुने सम्झौता गरेका हुन् ।

स्थापनाकालदेखि नै समुदायमा केन्द्रित रही सञ्चालित यि दुबै संस्था एशियाली ऋण महासंघद्वारा सञ्चालित एक्सेस ब्राण्डिंङ कार्यक्रममा समेत सहभागी संस्थाहरु हुन् । एशियाली ऋण महासंघ र नेफ्स्कुनको अनुगमन र नियमनमा सञ्चालित यि संस्थाहरु मध्ये सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने युवा एक्सेस कार्यक्रममा सहभागी संस्था हो ।

कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उदयराम कायस्थले अब सानो र सुन्दर भनेर सहकारी संस्थाहरु सञ्चालन गर्न सहज नभएको भन्दै ठूलो र बलियो भन्ने अवधारणालाई अंगिकार गर्न जरुरी रहेको बताए । त्यसैको नतिजा स्वरुप दुई संस्थाहरु मर्जरमा जाने सम्झौता भएको उनले बताए ।

त्यसैगरी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले दुई संस्था मर्जर भएको बताए । अन्य संस्थाहरुसँग पनि एकीकरणको विषयमा छलफल चलिरहेको र जारी रहेने उनको भनाइ छ । एकीकरणको बाधक भनेको पद हो, पद कहिले पनि स्थायी हैन त्यसैले म केही पनि पदमा छैन भन्ने सोचेर खाली दिमागले एकीकरणको छलफलमा बस्नु पर्ने उनको तर्क थियो ।

दुबै संस्थाको आगामी साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेपछि दुबै संस्थाको एकीकृत कारोबार सुरु हुने छ । एकीकृत संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पुँजी ४ अर्ब २२ करोड हुनेछ भने शेयर पुँजी ३८ करोड पुग्नेछ । लगानीमा रहेको ऋण ३ खर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । बचत निक्षेप २ अर्ब ७० करोड पुग्ने छ भने जगेडा कोष ३० करोड रुपैयाँको हुनेछ । अन्य कोषहरु २१ करोड गरी जम्मा कोष ५१ करोडको हुनेछ ।