नेपालमा वार्षिक कति राउटर आयात हुन्छ ?
वि.सं.२०७९ असोज १२ बुधवार १०:३३
shares

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो समय वायरलेस राउटरको आयात निकै बढेको छ । आर्थिक वर्ष २०७५/०७६ सम्म राउटर आयतको कुनै तथ्यांक नै नरहेको नेपालमा त्यस पछिका वर्षहरुमा भने राउटरको आयतमा वर्षेपिच्छे बढ्दै गएको तथ्यांकले देखाएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा आर्थिक २०७६/०७७ मा १ लाख बढी राउटर आयता भएको थियो । सो वर्ष नेपालमा १ लाख १२ हजार ३७४ वटा राउटर आयात भएका थिए । राउटर आयतकै लागि सो आर्थिक वर्षमा २२ करोड ९७ लाख ७७ हजार रुपैयाँ खर्च भएको विभागको तथ्यांकले देखाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा राउटर आयतको तथ्यांकमा उल्लेख्य मात्रामा वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार सो आर्थिक वर्षमा नेपालले २ अर्ब बढीको राउटर आयात गरेका छ । ८ लाख ५ हजार २८० वटा राउटर खरिदका लागि सो आर्थिक वर्षमा २ अर्ब १५ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्षमा भने राउटर खरिदकै लागि नेपालबाट ४ अर्ब बढी रुपैयाँ विदेश गएको छ ।
नेपालमा गत आर्थिक वर्षमा ४ अर्ब ३६ करोड २२ लाख रुपैयाँको १२ लाख ९२ हजार ८९२ वटा राउटर आयात भएको विभागको तथ्यांक रहेको छ । यो तथ्यांकबाट नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गएको देखिन्छ । राउट आयातको तथ्यांक हेर्दा चालू आर्थिक वर्षमा अझ बढ्ने देखिन्छ । चालू आर्थिक वर्षको दुइ महिनाको अवधिमा मात्रै नेपालमा ७७ करोड ८५ लाख ५१ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ । दुई महिनामा २ लाख २३ हजार ३१२ वटा राउट आयात भएको तथ्यांक रहेको छ ।
पछिल्लो समय इन्टरनेट तर्फ सबैको आक्ररण बढ्दो क्रममा रहेको छ । सहरमा मात्रै होइन गाउँघरमा समेत इन्टरनेटको प्रयोग बढ्दै गएको छ । केही वर्ष अघिसम्म सहरमा मात्रै केन्द्रित रहेको इन्टरेट सेवा प्रदायकहरु समेत अहिले गाउँगाउँमा पुग्न थालेका छन् । विश्वमा भएका घटनाहरुको विषयमा जानकारी लिन र दिनका लागि समय इन्टरनेटको आवश्यकता निकै बढेको छ ।















