Dhulikhel Eco Banner new

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

5.62K
shares

काठमाडौं, २८ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ ।

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको छ भने क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका केन्द्रीय सदस्य तिलबहादुर महतबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोइराला र महत यसअघि पनि क्रमशः क्षेत्र नं १ र २ बाट निर्वाचित भएका थिए ।

जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्व जजिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी चुनाबी मैदानमा प्रतिस्पर्धा गर्दै छन भने क्षेत्र नं १ को ‘ख’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन ।

त्यसैगरी क्षेत्र नं २ मा प्रदेशसभातर्फ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सौगमकुमार सिरपाली र एमालेबाट पद्ममा जिसीको उम्मेदवारीलाई चासोका रुपमा हेरिएको छ भने प्रदेशसभातर्फ ‘ख’मा सत्ता गठबन्धनबाट नेकपा एसका डा गोपाल खनाल र एमालेका लक्ष्मणबहादुर पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचनको तयारीस्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षीदलले बैठक र भेला सुरु गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपालगायतका दलले बैठक र भेलालाई तीव्रता दिएका हुन् ।