Dhulikhel Eco Banner new

मत माग्न गाउँ पसे बागलुङका उम्मेदवार

4.12K
shares

काठमाडौं, १ कात्तिक । प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले समेत आइतबारदेखि निर्वाचन प्रचार प्रसारको तालिका बनाएर घरदैलो अभियान शुरु गरेको छ । गठबन्धनका उम्मेदवारले बागलुङ नगरपालिका–१ रामरेखा र नेकपा एमालेका उम्मेदवारले बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट घरदैलो अभियान थालेका छन् ।

पाँच दलीय गठबन्धनतर्फ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा क का उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरेका नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।

शर्माका अनुसार पाँच दलीय गठबन्धन निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले निकालेको समय तालिका अनुसार आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट सुरु भएको घरदैलो, मतदाता भेटघाट नं २ र ३ सम्म पुगेको छ । असोज २८ गते गठबन्धनको बागलुङ बजारमा निर्वाचन परिचालन कार्यालय उद्घाटन, २९ गते बागलुङ नगरपालिका–१४ नारायणस्थानमा भेटघाट तथा कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा ख अन्तर्गतको अनुशिक्षण गरेको पाँच दलीय गठबन्धले आइतबार रामरेखाबाट घरदैलो कार्यक्रम सुरु गरेको कांग्रेसका सचिव शर्माले बताए ।

घरदैलो तथा भेटघाटमा नेता केसीले समग्र बागलुङको विकासका एजेण्डा राष्ट्रिय तहमा स्थापित गर्दै संविधानको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गरे । यस्तै कांग्रेसका नेता बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा क का उम्मेदवार थापाले विकास र सुशासनका पक्षमा आफुले मत मागेको बताए ।

यस्तै नेकपा एमालेबाट बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा सूर्य पाठकले आइतबार बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट आफ्नो चुनावी कार्यक्रम सुरु गरेका छन । डा पाठकले पहिलो दिन नारायणस्थानको नेपाने, कोलपाटा र नमूना गाउँमा घरदैलो कार्यक्रम गर्दै आफूलाई मत मागेका थिए । निर्वाचन परिचालन कमिटिले निर्माण गरेको कार्यतालिका अनुसार आइतबार नारायणस्थानमा घरदैलो कार्यक्रम सकेर कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा ख अन्तर्गतको कार्यालय स्थापना गरिएको निर्वाचन परिचालन कमिटिका संयोजक लीलाबहादुर थापाले जानकारी दिए । पाठकले सोमबार अमलाचौरमा घरदैलो कार्यक्रम गरेका थिए ।

मतदातासँगको भेटमा डा पाठकले अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको विकासमा सहयोग पु¥याउनुभएको मतदातालाई धन्यवाद दिँदै बागलुङका अधुरा ठूला योजना पूरा गर्न पुन ः निर्वाचनमा आएको बताए । यस्तै बागलुङ क्षेत्र नं १ प्रदेशसभा क मा नेकपा एमालेबाट हीरा केसी आफ्ना चुनावी एजेण्डा लिएर भेटघाटमा लागेका छन । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट चुनावी एजेण्डा र धारणासमेत सार्वजनिक गर्दै गाउँ पसेका हुन् ।