लाइसेन्स वितरण गर्ने निर्णयको फाइल पेश गर्न बोर्डलाई सर्वोच्चको आदेश
वि.सं.२०७९ कात्तिक २९ मंगलवार १८:३९
shares

काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालतले नयाँ ब्रोकर कम्पनी, स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि वितरण गरिने लाइसेन्सको फाइल माग गरेको छ । मंगलबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलासले बोर्डको उक्त निर्णयको फाइल पेश गर्नका लागि निर्देशन दिएको हो ।
सर्वोच्चले उक्त प्रकृया अघि बढाउनका लागि मन्त्रिपरिषद तथा धितोपत्र बोर्डले गरेको निर्णयको फाइल मागेको हो । अधिवक्ता दिपकविक्रम मिश्रले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रकृया रोक्न माग गर्दै रिट निवेदन दिएका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको छ । मिश्रले असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
धितोपत्र बोर्डले असोज २ गते नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजार सञ्चालनका लागि आवेदन खुला गरेको थियो । नयाँ ब्रोकर खोल्न आवेदन दिने ३० दिनको समय कात्तिक १५ गते सकिएको छ ।
















