डा. तोसिमा कार्की भन्छिन्– प्लाटफर्मका लागि पार्टीको चुनाव चिन्ह लिएँ
वि.सं.२०७९ कात्तिक ३० बुधवार १०:१७
shares

काठमाडौं, २९ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक पार्टी र उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त छन् । केटिएम भ्वाइसको टिम मंगलबार ललितपुरको धापाखेल पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्की पनि भोट माग्न व्यस्त थिइन् । आफ्ना सहयोगी समर्थकहरुसहित घरदैलोमा हिडिरहेकी डा. कार्कीलाई हामीले केहीबेर पछ्यायौँ ।
हामीले डा. कार्कीलाई पहिलो प्रश्नमै चुनावी माहोलका विषयमा सोध्यौँ । उनले उत्साहजनक रहेको बताइन् । उनले जनताले साथ दिनेमा आशावादी रहेको सुनाइन् । डा. कार्की मेडिकल काउन्सिलमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी थिइन् । उनले काउन्सिल बोर्ड सदस्यमा जितिन् । उनलाई काउन्सिल बोर्ड सदस्य बनाउने पार्टी एमालेले त्यस क्षेत्रमा आफ्ै उम्मेदवार उठाएको छ । कार्की भने अर्कै पार्टीबाट उम्मेदवार बनेकी छिन् ।
निर्वाचनको तयारी गर्दै गर्दा स्वतन्त्र रुपमा चुनाव उठ्ने बताएकी कार्की अहिले राजनीतिक दलको उम्मेदवार छिन् । उनले घण्टी चुनाव चिन्हलाई केवल प्लाटफर्मको रुपमा मात्रै लिइएको बताइन् । हामीले कार्कीसँग उनका एजेण्डाबारे जिज्ञासा राख्यौँ । कुनै एक व्यक्ति सांसद भएर विकास गर्न सक्ने होइन । ‘मेरो उम्मेदवारी परिवर्तनका लागि’ भएको बताइन् ।
उनलाई हामीले मुलुकममा विकासका लागि नीतिगत र संरचनागत सुधार कहाँ कसरी गर्न सकिने भन्ने जिज्ञासा पनि राख्यौँ । उनले कहाँ कुन नीति र संरचना सुधार गर्नुपर्छ भन्ने स्पष्ट जवाफ भने दिइनन् । बोरु स्वास्थ्य क्षेत्रका सन्दर्भमा उनले संरचनामात्रै भएर नहुने बताइन् ।
मेडिकल काउन्सिलमा चुनाव जितेर कार्यकाल पुरा नभई राजनीतिमा होमिएका कारण उनले तपाईले संसदमा गएर पनि जनतालाई बिचमै बेइमानी गर्नहुन्छ कि भनेर प्रश्न सोध्यौँ । उनले भनिन्, ‘मलाई तपाईले गलत आरोप लगाउनु भयो, मैले निरन्तरता दिएका कारण मेरो उम्मेदवारी माथि प्रश्न उठेको हो, तपाईको प्रश्न नै गलत छ ।’
तपाई पार्टीकै झण्डामुनी हुनुुहुन्छ नि ? भन्ने प्रश्नमा भने उनले प्रश्न नै पूर्वाग्राही भएको बताइन् । उनले प्लाटफर्मका लागि मात्रै घण्टी चुनावचिन्ह लिएको बताइन् । चुनावमा आफ्नो पक्षमा मतदातालाई आकर्षण गर्नका लागि उम्मेदवारहरु अन्तिम कसरतमा रहेका छन् ।
पछिल्लो समय परम्परागत पार्टीहरुले जनताको आवश्यकता अनुसार काम नगरेको भन्दै विभिन्न पार्टीहरु खुल्ने तथा स्वतन्त्र व्यक्तिहरु पनि उम्मेदवार बनेका छन् । तर पार्टीको चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्कीले आफू पार्टीको उम्मेदवार नभएको बताएका छिन् । उनको चुनाव चिन्ह घन्टी हो । यो चुनाव चिन्ह निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दर्ता भएको चुनाव चिन्ह हो । तर उनले आफू त्यो पार्टीको नभएर स्वतन्त्र उम्मेदवार रहेको बताएकी हुन् ।
‘मलाई यो पार्टीलाई प्लेटफम दिएको हो, परिवर्तन गर्नु पर्छ भन्ने नाराका साथ आएको र मलाई पनि ठाउँ दिएको हो । तर म पार्टीको नभएर आम जनताको उम्मेदवार हुँ,’ उनले भनिन् । आफ्नो उम्मेदवारी नै परिवर्तनका लागि भएको दाबी गर्दै उनले सम्बन्धित निकायमा जाने व्यक्तिहरु गलत भएकाले समस्या भएको बताइन् ।
















