Dhulikhel Eco Banner new

ऋणपत्रको ब्याजदर आकर्षक, तर बिक्न महाभारत !

4.86K
shares

काठमाडौं, ५ जेठ । पछिल्लो समय बैंकहरुले बिक्रीका लागि खुल्ला गरिएका ऋणपत्र बिक्री हुने गारो देखिएको छ । पछिल्लो समय बैंकको निक्षेपमा नै ११ प्रतिशत भन्दा बढी ब्याज पाइन थाले पछि अहिले बैंकको ऋणपत्र बिक्री हुने गारो देखिएको हो ।

पछिल्लो समय सेञ्चुरी कमर्शियल बैंक र एनएमवि बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा आधाभन्दा पनि कम मात्रै बिक्री भएको छ । दुई बैंकहरुले ल्याएको ऋणपत्र समय थप गर्दा पनि आधाभन्दा पनि कम मात्रै बिक्री भएको हो ।

अहिले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै पाइन थालेको अवस्थामा बैंकहरुले ११ प्रतिशतभन्दा कम ब्याजदरमा ऋणपत्र बिक्रीमा ल्याउदा ऋणपत्र बिक्री गर्न कठिन भएको देखिएको छ । सेञ्चुरी कमर्शियल बैंकले बैशाख २१ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो ।

सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ८ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणले खरिद गर्न पाउने व्यवस्था थियो ।

तर बैंकले बिक्रीमा लएको ऋणपत्रमा जेठ ४ गतेसम्ममा ४ लाख ७५ हजार २२० कित्ता मात्रै बिक्री भएको हो । यो भनेको कुल बिक्रीमा ल्याएको ऋणपत्रको झण्डै आधा हो ।

यसैगरी, एनएमबि बैंकले पनि प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता उर्जा ऋणपत्र बिक्रीमा ल्याएकोमा २१ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा बिक्री खुला गरिएको थियो । जसमा ५ प्रतिशतका दरले ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो र बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने गरि आवेदन माग गरिएको थियो । तर उक्त ऋणपत्रमा पनि सर्वसाधारणको उपस्थिति निकै कम देखिएको छ । बैंकको उक्त ऋणपत्रमा ४ लाख १६ हजार ४४५ कित्ता खरिदको लागि मात्र आवेदन परेको जनाइएको छ ।

दुबै बैंकले बिक्रीमा ल्याएको ऋणपत्र बुधबारदेखि बिक्री बन्द भइसकेको छ । तर त्यसमा आधाभन्दा धेरै ऋणपत्र भने बिक्री हुन सकेन । यसअघि ऋणपत्र जारी गरेका गरिमा विकास बैंक, प्राइम कमर्शियल बैंक, सिभिल बैंकलगायतलाई पनि ऋणपत्र बिकाउन गाह्रो परेको थियो ।

बैंकहरुले समय थप गर्दा पनि सर्वसाधारणमा बिक्री गर्न खोजेको सबै ऋणपत्र बिक्री नभएपछि उनीहरुले बाँकी रहेको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गरेको थिए । यसअघि माछापुच्छ्रे बैंकले बिक्रीमा ल्याएको ऋणपत्र पनि सर्वसाधारणले १४ प्रतिशत मात्रै खरिद गरेका थिए भने लक्ष्मी बैंकको ऋणपत्र समेत १४ प्रतिशत मात्रै बिक्री भएको थियो । त्यस्तै ज्योति विकास बैंकको ऋणपत्र पनि २४ प्रतिशत मात्रै सर्वसाधारणमा बिक्री भएको छ ।

बैंकको ऋणपत्र घट्नुमा मुद्दति खातामा नै राम्रो ब्याज पाएका कारणले पनि ऋणपत्र बिक्री हुन छाडेको हुन सक्ने नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । यसका अलावा तरलता अभाव तथा चुनावका पनि कारण हुन सक्ने उनले बताए । पछिल्लो समय चुनावका कारण पनि व्यक्तिहरु बाहिर रहेकाले पनि बिक्री नभएको हुनसक्ने उनको भनाइ छ ।