तनहुँका दश स्थानीय तहद्वारा रु सात अर्ब ७५ करोडको बजेट प्रस्तुत
वि.सं.२०८० असार ११ सोमवार १०:०८
shares

काठमाडौं, ११ असार । तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
तनहुँका सबै स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आइतबार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जिल्लाका सबै स्थानीय तहले कृषि, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएका छन् ।
व्यास नगरपालिकाले रु एक अर्ब ५९ करोड ३१ लाख एक हजार, भिमाद नगरपालिकाले रु ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७०, भानु नगरपालिकाले रु एक अर्ब सात करोड ३२ लाख ५६ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २८ करोड ३१ लाख तीन हजारको बजेट प्रस्तुत गरेका छन् ।
देवघाट गाउँपालिकाले रु ५० करोड ६६ लाख ९८ हजार छ सय, आँबुखैरेनी गाउँपालिकाले रु ६३ करोड, बन्दीपुर गाउँपालिकाले रु ४८ करोड ६१ लाख ८४ हजार, म्याग्दे गाउँपालिकाले रु ५५ करोड ५३ लाख ५० हजार, ऋषिङ गाउँपालिकाले रु ५५ करोड २५ लाख २८ हजार र घिरिङ गाउँपालिकाले रु ४३ करोड ७८ लाख ८९ हजार नौ सयको बजेट प्रस्तुत गरेको छ ।
जिल्लाको पुरानो र ठूलो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट प्रस्तुत गरेको छ । व्यास नगरपालिकाले चालुतर्फ रु ९० करोड ८६ लाख ९६ हजार र पुँजीगतर्फ रु ६८ करोड ४४ लाख पाँच हजार विनियोजन गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिए । कूल बजेटको ५७ दशमलव ०४ प्रतिशत चालुतर्फ र ४२ दशमलव ९६ प्रतिशत बजेट पुँजीगतर्फ विनियोजन गरिएको छ ।
उपप्रमुख दरैका अनुसार आर्थिक विकासतर्फ रु पाँच करोड ९६ लाख १० हजार, सामाजिक विकासतर्फ रु ७१ करोड दुई लाख ९२ हजार, पूर्वाधार विकासतर्फ रु ५३ करोड ५४ लाख ३१ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु सात करोड १६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ रु २१ करोड ६१ लाख १८ हजार बजेट विनियोजन गरिएको छ ।
राजस्व सङ्कलन कमी, सङ्घ र प्रदेश अनुदान कटौती भएकाले चालु अवस्थामा रहेका योजनामा रु पाँच करोड विनियोजन गरिएको उनले जानकारी दिए ।















