Dhulikhel Eco Banner new

दुई मेडिकल हलका सञ्चालक पक्राउ

8.29K
shares

काठमाडौं, १२ असोज । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’मार्फत उपचार गराएको प्रहरीको भनाइ छ । त्यस्तै मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिब्योटिक्सको माध्यमबाट उपचार गराएको प्रहरीको भनाइ छ ।

उनीहरु विरुद्ध बिहीबार नै तनहुँ जिल्ला अदालतबाट इलाजसम्बन्धी कसुरमा चार दिनको म्याद थप गरिएको छ ।