अर्थतन्त्र सुधारोन्मुख सरकारी दाबीसँग मिलेन उद्योग परिसंघको सर्वेक्षण
वि.सं.२०८० पुस १६ सोमवार १८:१६
shares

अर्थतन्त्र मन्दीको अवस्थाबाट सुधारोन्मुख रहेको सरकारी दाबी गलत रहेको एक सर्भेले देखाएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको सर्भेले समग्र बजार माग नै खस्किएको देखाएको हो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले केही साताअघि पत्रकार सम्मेलन गरी अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरेका थिए। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि हरेकजसो सार्वजनिक मञ्चमा अर्थतन्त्र दबाबमा रहेकपनि सुधारोन्मुख रहेको दाबी गर्ने गरेका छन्।
तर सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार माग नै घटेको छ। उद्योगहरूको समग्र मागमा यो वर्षको पहिलो त्रैमासमा ३६.९३% ले संकुचन आएको सर्भेमा उल्लेख छ। उपभोग लगातार घटेपछि ५४ प्रतिशतले व्यवसाय बिस्तार योजना त्यागेका छन्। सर्भे अनुसार निर्माण क्षेत्र झनै कमजोर देखिएको छ।

सीएनआईले सर्भेको नतिजालाई लिएर जारी गरेको प्रेस विज्ञप्ति
पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्वीकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन्। अर्थतन्त्रको वाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइएको छ। सरकारको यस्तो तथ्यांक र जिकिरलाई जनस्तर, निजी क्षेत्र एवं संचारमाध्यमहरुले गरिरहेको अनुभव तथा तथ्य- विश्लेषणहरुसँग मेल नखाइरहेको अवस्थामा अर्थतन्त्रको वास्तविकता आकलन गर्न नेपाल उद्योग परिसंघ (सीएनआई) उद्योग व्यवसायस्तरमा एक सर्वेक्षण गरेको छ।
परिसंघको यस सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार आएको देखिँदैन। समग्र बजार माग खस्किएको देखिएको छ। कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ। उद्योगको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको देखिन्छ।
परिसंघले आर्थिक वर्ष २०७९/८० मा मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाको पहिचान गर्न अघिल्लो आर्थिक वर्षमा समेत एक सर्वेक्षण गरेको थियो। सोही सर्वेक्षणको दोस्रो संस्करणका रुपमा परिसंघले यस वर्ष पनि अघिल्लो र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन सर्वेक्षण गरेको हो।
ताजा सर्वेक्षणमा विगत तीन आर्थिक वर्षको पहिलो त्रैमासको तुलनात्मक अध्ययन गरिएको छ। सर्वेक्षणअनुसार औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएको थियो। यो चालु आर्थिक वर्षको सोही अवधिमा थप १२.०६ % ले घटेको देखिएको छ।
आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा २०८०/८१ मा उद्योगहरूको समग्र मागमा कूल ३६.९३% ले संकुचन आएको छ। यसैगरी उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष २४.९४% ले घटेकोमा चालु आर्थिक वर्षको समान अवधिमा थप ७.४६ % ले घटेको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा कूल ३०.५४ % ले खुम्चिएको छ।
अर्थतन्त्रको प्रतिकूल अवस्थाका कारण गतवर्ष नै उद्योगी व्यवसायीको मनोबल कमजोर बनेको देखिएको थियो, जुन चालु वर्ष समेत यथावत रहेको देखिएको छ। सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षमा ६९.४४% उद्योगी व्यवसायीले आफ्नो लगानीका योजनाहरू स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२% उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको जनाएका छन्। यसबाट सरकारले दाबी गरे अनुसार अर्थतन्त्रको अवस्थामा सुधार आएको हाम्रो बुझाइ रहेको छ।
क्षेत्रगत रुपमा सिमेन्ट उत्पादकहरूले सर्वेक्षणमा जनाए अनुसार उद्योगको समग्र मागमा अघिल्लो वर्षको तुलनामा थप ७.३६% ले संकुचा आएको छ। अघिल्लो वर्षको सोहि समयमा यो ४०.१७% ले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ संगको तुलनामा हाल सिमेन्टको समग्र मागमा कूल ४४.५७ % ले गिरावट आएको देखिन्छ।
यसैगरी यस्ता उद्योगको कारोबार रकममा अघिल्लो वर्ष ३९% ले संकुचन आएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा थप ९.५४% ले गिरावट आएको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा कारोबार रकममा कूल ४४.८२% ले संकुचन आएको देखिएको छ।
परिसंघको सर्वेक्षण अनुसार अघिल्लो आर्थिक वर्षमा ८३.३३% सिमेन्ट उत्पादकहरूले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६२.५०% ले आफ्नो लगानी योजना स्थगित गरेको जनाएका छन्।
निर्माण व्यवसाय क्षेत्रका उद्योगी व्यवसायीले सर्वेक्षणमा दिएको प्रतिक्रिया अनुसार यस क्षेत्रको समग्र माग अघिल्लो वर्षको तुलनामा थप १६.२०% ले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ४३.४३% ले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कुल ५२.५९% ले संकुचन आएको पाइएको छ। यसैगरी यस क्षेत्रका उद्योगहरूको कारोबार रकम अघिल्लो वर्ष ४३.७१% ले घटेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा थप २०.८०% ले घटेको देखिन्छ।
आर्थिक वर्ष २०७८/७९ सँगको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको समग्र कारोबार रकममा कूल ५५.४२% ले संकुचन आएको देखिएको छ। यस्तै यस क्षेत्रका उद्योगहरूमा ३३.३३% ले लगानी स्थगित गरेको जनाएका छन् भने गत वर्ष ५३.८५% उद्योगी व्यवसायीले आफ्नो लगानी विस्तारको योजना स्थगन गरेका थिए।
अघिल्लो वर्षको पहिलो त्रैमासमा एफएमसिजी क्षेत्रको माग २.५०% ले बढेको थियो तर यस वर्ष १७.७०% ले गिरावट आएको देखिएको छ। यसरी अघिल्लो वर्ष सकारात्मक रहेको क्षेत्र समेत यस वर्ष नकारात्मक देखिएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४% ले संकुचन आएको देखिएको छ। यसैगरी यस क्षेत्रको कारोबार रकममा अघिल्लो वर्ष १२.२५% ले बढेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १८.५०% ले घटेको देखिन्छ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८९ मा समग्र कारोबार रकममा ८.५२% ले संकुचन आएको छ। सर्वेक्षण अनुस अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४९.६७% यस क्षेत्रका उद्योगी तथा व्यवसायीले आफ्नो लगानीको योजना स्थगित गरेको जनाएका थिए भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस क्षेत्रमा ५०% व्यवसायीहरूले आफ्ना लगानी योजना स्थगित गरेको जनाएका छन्।


















