Dhulikhel Eco Banner new

एनआईसी एशिया बैंकको नाफा ४१.८४ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी पनि ३१ रुपैयाँले घट्यो

4.28K
shares

काठमाडौं, ७ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको अर्थात पुस मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसर बैंकले गत वर्षको ६ महिनाको अवधिमा भन्दा यो वर्ष तुलनामा ४१.८४ प्रतिशत कम नाफा कमाएको छ । बैंकले चालु आवको ६ महिनामा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने गत आवको सोही अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ भने कमिशन आम्दानी बढेको छ । बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेको र खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेको सर्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

बैंकको इम्पेरमेन्ट चार्ज भने यो अवधिमा धनात्मक देखिएको छ । चालु आवको पुस मसान्त सम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँ धनात्मक देखिएको छ भने गत आवको सोही अवधिमा ४७ करोड रुपैयाँ ऋणात्मक रहेको थियो । बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

बैंकको कुल सञ्चालन आम्दानी पुस मसान्त सम्ममा ४.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ। ६ महिनाको अवधिमा बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात १९.९७ गुणा र प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। ६ महिनाको अवधिमा बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।