Dhulikhel Eco Banner new

काठमाडौँमा आजदेखि ट्राफिक सचेतना विशेष अभियान सुरु

3.33K
shares

काठमाडौँ, २ वैशाख । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१ सुरु गरेको छ ।

उक्त अभियानको आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेको छ ।

गृहमन्त्री लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति, नियम र ऐन संशोधन गरेरै भए पनि सार्वजनिक यातायातको रुट तथा सहज सडक यात्राको सुधारमा मन्त्रालय लागिरहेको बताए । ट्राफिक नियम पालनामा लापरवाही भइरहेको सन्दर्भ जोड्दै उनले अब प्रहरीको बोली नरम र कारबाही कडा हुनुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री लामिछानेले भन्नुभयो हामी तपाईँहरूको ज्यान जोगाउन लागेका छौँ । अब ट्राफिक नियम पालनामा निर्मम हुन्छौँ । त्यसअघि केही समय सचेतना कार्यक्रम गरेर समय भने दिन्छौँ । सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै उनले अब नियम उल्लङ्घन गर्ने विरुद्ध जानकारी रिपोर्टिङ गर्नेलाई समेत पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिनुभयो ।

सडकमा ट्राफिक लाइट जोडिँदा राष्ट्रिय समाचार बन्ने अवस्थाले नै नेपाल कति पछाडि छ । भनेर देखिने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले यो वर्ष परिवर्तनको वर्ष भएको बताए । उनले केही परिवर्तनको थालनी भइसकेको भन्दै प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताए ।

विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै गृहमन्त्री लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताए । सबै क्षेत्रमा राजनीति हाबी भएर समस्या बल्झिरहेको बताउँदै उनले भन्नुभयो राजनीति गर्ने हामीहरूले हो । जसलाई जे गर्ने जिम्मेवारी छ त्यही गर्नुस्, राजनीति गर्ने हामीहरू छँदै छौँ ।

गृहमन्त्री लामिछानेले दुर्घटना न्यूनीकरणका लागि जरोमा जानुपर्ने भन्दै त्यो जरो भनेको लाइसेन्स दिने प्रक्रिया भएको बताए । उनले रोड परीक्षण नगरी लाइसेन्स दिनै नहुनेमा जोड दिए ।

उनले जुन प्रहरीको क्षेत्रमा लापरवाहीका कारण दुर्घटना हुन्छ । त्यहाँका इन्चार्जको वृत्ति विकास र मूल्याङ्कनमा नम्बर कम आउने जनाउँदै भन्नुभयो नेताको हात समातेका आधारमा नभई भ्रष्टाचार, चोर समातेका आधारमा वृत्ति विकास हुन्छ । र सोहीअनुसार कामको मूल्याङ्कन हुन्छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ट्राफिक सचेतना कार्यक्रमले सबैलाई जिम्मेवार बनाउने हुँदा यो अभियान अति महत्त्वपूर्ण रहेको बताए । उनले ट्राफिक प्रहरीको व्यवहार सुधारमा जोड दिनुभयो ।

उपप्रमुख डङ्गोलले नागरिकले पनि जिम्मेवार भएर सडक प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । केही नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले नागरिकलाई सचेत गराउन जरुरी रहेको बताए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात व्यवस्थापनमा विशेष ध्यान दिएर काम थालेको बताए ।

उनले यातायातमा समेत सिसी क्यामेरा जडान गर्न सके दुव्र्यवहार रोक्न सहज हुने उल्लेख गर्दै साझा यातायातसँग सो विषयमा छलफल भइसकेको जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । उनले जनचेतना वृद्धिमा जोड दिँदै सार्वजनिक यातायात सुधार कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उक्त प्रतिवेदन कार्यान्वयन भएमात्रै पनि ८० प्रतिशत सार्वजनिक यातायात सुधार हुने उनले विश्वास व्यक्त गर्नुभयो ।

सडक सुरक्षाका जानकार भगवती सेढाईँले सहीरूपमा समुदायमा सचेतना बढाउँदा २० प्रतिशत दुर्घटना न्यूनीकरण हुने बताए । उनले ट्राफिक भोलेन्टियर तयार पार्न सुझाव दिँदै नागरिक पनि संवेदनशील हुनुपर्ने बताए । सडकका नियम पालना प्रहरीका लागि हो भन्ने सोच परिवर्तन गर्न पनि उनले आग्रह गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक नियम पालना, सचेतना, आम नागरिक तथा सङ्घसंस्थालाई जिम्मेवार बनाउन अभियान सुरु गरिएको बताए ।

मानवीय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले पूर्वाधार, पार्किङ व्यवस्थापन र करिडोर खुला गर्नसके काठमाडौँको ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताए । समारोहअघि काठमाडौँमा ट्राफिक सचेतनासम्बन्धी र्याली निकालिएको थियो ।