Dhulikhel Eco Banner new

हाम्रो शेयर संरचना पूर्ण रूपमा पारदर्शी छः स्टार माइक्रो इन्स्योरेन्स

1.4K
shares

काठमाडौं, ८ वैशाख । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयर स्वामित्व संरचना पूर्ण रूपमा पारदर्शी, कानुनी तथा नियामक निकायको मापदण्डअनुसार व्यवस्थित रहेको स्पष्ट पारेको छ।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा कम्पनीले सञ्चारमाध्यमहरूमा आफ्नो शेयर संरचना र केही व्यक्तिहरूको नाम जोडेर प्रकाशित भएका समाचारहरू भ्रामक र अपुष्ट रहेको उल्लेख गरेको छ।

कम्पनीका अनुसार प्रचलित कानुनी प्रावधानअनुसार सञ्चालन भइरहेको यस संस्थामा ठूलो सङ्ख्यामा सर्वसाधारण नागरिकहरूको लगानी रहेको छ। आधारहीन र अप्रमाणित सूचना सार्वजनिक हुँदा कम्पनीको प्रतिष्ठामा आँच पुग्नुका साथै लगानीकर्ताहरूको विश्वासमा नकारात्मक असर पर्ने र सेवाग्राहीहरूमा भ्रम सिर्जना हुनेतर्फ कम्पनीले ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो कम्पनीको शेयर संरचनाबारे केही व्यक्तिहरूको नाम जोडेर गरिएको गलत व्याख्याप्रति हामी गम्भीर आपत्ति जनाउँछौँ। यस्ता भ्रामक सूचनाले कम्पनीको बदनाम गर्ने र बजारमा अनावश्यक नकारात्मक प्रभाव पार्ने काम गरेको छ।”

कम्पनीले सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशन वा प्रसारण गर्नुअघि तथ्यको सत्यता पुष्टि गर्न र जिम्मेवार पत्रकारिताको मर्मलाई आत्मसात् गर्न आग्रह गरेको छ। साथै, यस्ता भ्रामक सूचनाबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

स्टार माइक्रो इन्स्योरेन्सले अफवाह फैलाउने कार्यप्रति कडा रूपमा उभिने प्रतिबद्धता जनाउँदै आफ्ना सेयरधनी, सेवाग्राही तथा सरोकारवालाहरूलाई अपुष्ट समाचारको भ्रममा नपर्न आग्रह गरेको छ। कम्पनीले आधिकारिक जानकारीका लागि आफ्नै आधिकारिक स्रोतमा भर पर्न समेत अनुरोध गरेको छ।