Dhulikhel Eco Banner new

बजेटले मुलुकले बोक्न नसक्नेगरी आर्थिक दायित्व सिर्जना गर्छ : एमाले उपाध्यक्ष पौडेल

7.89K
shares

काठमाडौं, १७ जेठ । पूर्वअर्थमन्त्री तथा नेकपा(एमाले)का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटले मुलुकले बोक्न नसक्नेगरी आर्थिक दायित्व सिर्जना गरेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा आ.व. २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान माथि छलफलमा भाग लिदैँ उपाध्यक्ष पौडेलले वर्तमान सरकारले आफनो सिमा मिचेर पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेर मुलुकलाई धेरै आर्थिक दायित्व सिर्जना हुने बताएका हुन् ।

मंसिरमा प्रतिनिधि सभाको आयु सकिएर चुनाव हुनुपर्ने भन्दै वर्तमान सरकार चुनावी सरकार भएको उनको भनाई थियो । बजेट संकटपूर्ण बन्दै गएको अर्थतन्त्रलाई ठिक बाटोमा फर्काउन तत्काल चाल्नुपर्ने कदममा केन्द्रीत हुनुपर्नेमा त्यसो हुन नसकेको उनको आरोप छ । अर्थतन्त्रको चुनौतीलाई वेवास्ता गरिएको उनको भनाई छ ।

पौडेलले बिना तयारीका दिर्घकालिन प्रकृतिका योजना र कार्यक्रमहरुका चाङ लगाइएको पनि टिप्पणी गरे । उनले भने– ‘यो चुनावी सरकार हो । तर पाँच महिनाको चुनावी सरकारले सिमा मिचेर भर्खर निर्वाचित भएको पूर्ण अवधिको सरकारले जसरी बजेट प्रस्तुत गरेको छ । भोली चुनावबाट आउने सरकार र मुलुकलाई नै बोकी नसक्नुको आर्थिक दायित्व सिर्जना गरेको छ । यो बजेट आगामी पाँच महिनाका लागि दैनिक प्रशासनिक खर्च, चालु आयोजनाको निरन्तरता र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म आवश्यक पर्ने खर्चका लागि स्रोत व्यवस्थापन र विनियोजनमा केन्द्रीत हुनुपर्दथ्यो ।’

पौडेलले राज्यको स्रोतलाई गठबन्धनको हितमा दुरुपयोग गरिएको आरोप समेत लगाएका छन् । बजेटले बजेटको मर्म माथि नै प्रहार गरेको उनले बताए ।