Dhulikhel Eco Banner new

नेक्सजेनले गर्यो द सेन्चुरियन होटलसँग सम्झौता, पुँजी वृद्धि र लगानीकर्ता खोज्न भूमिका खेल्ने

5.08K
shares

काठमाडौं, ३१ जेठ । दर सेन्चुरियन होटल,विराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता जेठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो । सम्झौतापत्रमा सेन्चुरियन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

विराटनगर धरान रोडस्थित शरहको केन्द्रविन्दुमा द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भईसकेको छ । भवनमा व्यवसायिक प्रयोजनका पसलहरु, सभा सम्मेलन, विवाह ब्रतबन्ध, बैंक्वेट हल समेत उपलब्ध हुने जनाइएको छ । सोही भवनको चार तल्लादेखि माथि ५ तारे स्तरको १४६ कोठाको र्याडिसन विराटनगर होटल सञ्चालन हुनेछ ।

हाल सञ्चालनका लागि अन्तराष्ट्रिय ब्राण्ड र्याडिसन होटल ग्रुपसँग जुलाई २०२२ मा सम्झौता भईसकेको छ । होटललाई ५ तारे तथा अन्तराष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पूँजी आवश्यक पर्ने भएकाले सोही उदेश्यका लागि कम्पनीको पूँजी वृद्धि गर्न, थप संस्था संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको हो ।

साथै, सोही सिलसिलामा कम्पनीको पूँजी वृद्धि गर्न र सर्वसाधारणलाई सेयर निष्कासनको प्रावधान सहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रक्रिया पनि अघि बढाईसकिएको छ । नेक्सजेन म्यानेजमेन्ट पूर्व बैंकरहरू समेतको लगानीमा स्थापित सम्पत्ति ब्यवस्थापन र व्यवसायिक परामर्शदाता कम्पनी हो । यसले ठुला, मझौला टाइपका उद्योग व्यवसायको स्थापना, संचालन व्यवस्थापनमा परामर्श सेवा दिदै आएको छ । यसले भर्खरै सम्पन्न अन्तराष्ट्रिय लगानी सम्मेलनमा नेपालमा विभिन्न उद्योग व्यवसायमा ६ अर्ब लगानी भित्र्याउने गरी कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपसंग सम्झौता गरेको थियाे ।