नयाँ सरकारमा विष्णु पौडेल उपप्रधानमन्त्री रहने लगभग निश्चित
वि.सं.२०८१ असार ३० आइतवार १५:२३
shares

काठमाडौं, असार । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । एमाले र कांग्रेसका एक एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।
नेपाली कांग्रेसको समर्थनमा गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् । उनलाइृ आइतबार बेलुका राष्ट्रपतिले नियुक्ति गर्ने तयारी गरेको शीतल निवास स्रोतले जनाएको छ । प्रधानमन्त्रीमा आइतबार ओली नियुक्त भएपछि सोमबार बिहान ११ बजेलाई शपथग्रहणको तयारी गरेको शीतल निवासले जनाएको छ । कांग्रेस एमालेबिचको सहमतिअनुसार सोमबारै मन्त्रीको समेत शपथ गराउने गरी ओलीले तयारी गरेका छन् । तर, अहिलेसम्म मन्त्रालय भागबन्डा र मन्त्री हुनेको नाम दुवै दलले गोप्य नै राखेका छन् ।
‘कांग्रेसबाट उपप्रधानमन्त्री राखौँ भन्ने अलि बढी जोड छ । त्यसो हुँदा दुई ठुला दलबाट एक(एक जना उपप्रधानमन्त्री राख्ने मोटो सहमति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको बुझिएको छ’, एमालेका एक शीर्ष नेताले भने, ‘त्यसो हुँदा हाम्रोतर्फबाट विष्णु पौडेलजीले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने निश्चित जस्तै छ ।’ ती नेताका अनुसार एमालेबाट बाँकी मन्त्री कोको बन्ने भन्नेबारे अध्यक्ष ओलीबाहेक अरू नेतालाई थाहा नभएको बताए ।
उनले पहिला त सरकारमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछिमात्र कुन कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने स्पष्ट हुने बताए । उनले कांग्रेस एमालेबाहेकका दलहरू राप्रपा, जसपा, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत नयाँ सत्ता समीकरणप्रति सकारात्मक छन् । यी दलमध्ये राप्रपा सरकारमा जाने या नजाने भन्नेबारे निर्णय गरिसकेको छैन । अरू दल भने सरकारमै जाने संकेत गरिसकेका छन् ।
एमालेबाट पौडेलसहित उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ, सूर्य थापा, जुली महतो, ऋषिकेश पोखरेललगायत मन्त्री बन्ने चर्चा भएपनि अध्यक्ष ओलीले केही बताइसकेका छैनन् । एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको एमाले नेताहरूको भनाइ छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले परिणाम दिन सक्नेलाई पार्टीले सरकारमा मन्त्री बनाउने बताए । ‘सरकारका कामलाई परिणाममुखी बनाउने हैसियत सांसद मन्त्री बन्छन्’, गौतमले भने, ‘त्यसमा को को व्यक्ति पर्छन् भन्ने कुरा शपथ लिएपछि मात्र थाहा हुन्छ ।’ यद्यपि एमालेबाट पहिला नै मन्त्री भएकाहरू भन्दा नयाँ अनुहार लैजानुपर्ने मत समेत बलियो । पहिला मन्त्री भएकाहरू एकाधबाहेक अरूबाट खासै आशा गर्न सकिँदैन । त्यसैले बदल्ने नै हो भने नयाँ व्यक्ति मन्त्री हुनुपर्छ’, एमालेका एक सांसद भन्छन्, ‘सबै पुराना नै जाने हो भने, कुनै फरकपन र खोजिएको नतिजा आउँछ भन्न सकिन्न ।’



















