Dhulikhel Eco Banner new

घरेलु तथा साना उद्योग महासंघ ३३ औं वर्षमा

5.75K
shares

काठमाडौं, २४ जेठ । नेपालको आर्थिक रुपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरु फष्टाउन सके अर्थतन्त्र समृद्ध हुने सरोकारवालाहरुले बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको मङ्गलबार राजधानीमा आयोजित ३३ औं स्थापना दिवशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताएका हुन ।

नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगीहरुले आवश्यकता महसुस गरेर २०४७ सालमा महासंघ स्थापना गरिएको बताए ।

साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्नका लागि घरेलु महासंघको आवश्यकता परेको भन्दै उनले अबका दिनमा महासंघले आफ्नो स्वरुपलाई परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउँदै भने – ‘अहिले सरकार केन्द्र, प्रदेश र स्थानीय स्तरमा पनि छ तर लघु, घरेलु तथा साना उद्योगीहरु समक्ष पुग्न सकेको छैन । त्यसैले केन्द्रदेखि प्रदेश र स्थानीय निकायमा हुनेहरु क्रियाशील बनौं ।’

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर शुरुवात गरेको महासंघ आज ७ वटै प्रदेश, ७७ वटै जिल्लामा पुगेको छ भने ३४१ वटा पालिका र सरकारको २६ वटा समितिमा पुगेको बताए ।

उद्यमीहरुका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको भन्दै उहाँले अहिले ६ लाखको हाराहारीमा रहेका लघु, घरेलु तथा साना उद्योगीहरुलाई सरकारले मान्यता दिएर ती उद्योगीहरुको प्रतिनिधिमूलक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघलाई हरेक समितिमा राखेको भन्दै उनले भने ती समितिहरुमा साना उद्योगीहरुको समस्या र आइपरेका समाधानका उपायहरु अवलम्बन गरेका छौं र खोज्ने प्रयास गरेका छौं ।’

महासंघका पूर्व अध्यक्ष सुरेश प्रधानले ३२ वर्षसम्म धेरै आरोहअवरोह पार गरेको स्मरण गर्दै स्थानीय स्रोत साधनमा आधारीत उद्योग व्यवसायको प्रवद्र्घनबाट मात्र राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताए ।

यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष वासु गिरी, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्य वहादुर कँडेल, उपाध्यक्षहरु हरिहर थापा, शोभा गुरुङ, मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डे, केन्द्रीइ महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवाल लगायतले आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।