Dhulikhel Eco Banner new

छ करोड ७१ लाख माछाका भुरा बेच्दै मत्स्यविकास केन्द्र

2.37K
shares

काठमाडौं, ७ मंसिर । मत्स्यविकास केन्द्र भण्डारले यस आर्थिक वर्षमा छ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ । कार्यालयले चालु आवमा चारदेखि सात दिनका छ करोड भुरा, एक महिनासम्मका ६५ लाख र दुई महिनादेखि तीन महिनाका छ लाख माछाका भुरा बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ ।

केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार केन्द्रमा अहिले ४० लाख माछाका भुरा बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । उनले भने, “जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा बिक्रीवितरण हुँदै आएको छ । तर यहाँ आएर लैजानेको सङ्ख्या बढ्दो छ ।”

निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपारसी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ, तनहुँ, कास्की र कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उनले बताए ।

गत वर्ष केन्द्रले चारदेखि सात दिनका माछाका भुरा सात करोड, एक महिनाका भुरा एक करोड दुईदेखि तीन महिनामा छ लाख बिक्री गरेको थियो । अहिले लक्ष्य थोरै राखे पनि गत वर्षको तुलनामा बढी माछाका भुरा बिक्री हुने उनले बताए । नैनी र रघु जातका चारदेखि सातदिने भुरालाई एक लाखको रु दुई हजारमा र अन्य प्रजातिलाई  दुई हजार पाँच सयमा बिक्री गर्दै आइएको दाहालले बताए । एक महिनाका माछाका भुरालाई  २५ पैसा र दुईदेखि तीन महिनाका भुरालाई ७५ पैसा प्रतिगोटामा बिक्री गरिएको छ ।

केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खानयोग्य माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनी, सिल्भर कार्प, ग्रासकार्पका भुरा उत्पादन गरेर बिक्री गर्दै आएको छ । माछाका भुरा वर्षभरि नै बिक्रीवितरण गरिने गरेको दाहालले बताए ।

उनले भने, “हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै बिक्रीवितरण गर्ने गरेका छौँ ।” विसं २०२६ मा खाने माछा बिक्रीवितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार बिक्रीवितरण गर्न थालेको हो । अहिले माछाका भुराको माग बढ्दो क्रममा रहेको केन्द्रका प्रमुख दाहालले बताए । उनका अनुसार केन्द्रले भुराको मागअनुसार लक्ष्य बढाउँदै लगेको छ । लक्ष्य बढाउनुपर्ने तर दक्ष कामदारको अभावमा सीमित कामदारबाट काम लगाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

राज्यले भुरा उत्पादनलाई केन्द्रमा राखेर काम गर्नसके माछाको आयात कम हुने उनको भनाइ छ। केन्द्रले गत आर्थिक वर्षमा भुरा बिक्रीवितरणबाट मात्रै  ७६ लाख राजस्व सङ्कलन गरेको थियो । अहिले भुराको मागअनुसार राजस्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।