नेप्से परिसूचक यो साता पनि ऋणात्मक
वि.सं.२०७९ जेठ २८ शनिवार ०७:३०
shares

काठमाडौं, २८ जेठ । नेप्से परिसूचक यो साता पनि घट्ने क्रम कायम नै रह्यो । नेप्से गत साताको अन्तिम कारोबार दिन २०७८.७० विन्दुमा बन्द भएको नेप्से, यस साता ३०.५४ अंक घटेर २०४८.१६ विन्दुमा झरेको छ ।
५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार ऋणात्मक रहँदा नेप्से समग्रमा एक हप्ताको अवधिमा ऋणात्मक नै रहेको हो । यस साताको बुधबार मात्र नेप्से ६०.२२ अंकले बढेको थियो । त्यो बाहेक बाँकी दिनको कारोबारमा नेप्से राताम्यै रह्यो ।
यस साता सेन्सेटिभ इण्डेक्स ११.२३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंक घटेको छ । नेप्से ओरालो लागेपनि यस साता दैनिक औषत कारोबार रकम, कारोबार संख्या र शेयर संख्यामा भने वृद्धि भएको छ । गत साताको तुलनामा यस साता दैनिक औषत कारोबार रकम ६.२८ प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या १६.१० प्रतिशत बढेको छ । त्यसैगरी, दैनिक औषत कारोबार संख्या यस साता ६.९८ प्रतिशत बढेको छ ।
नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत घटेको छ । गत साता २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता ४१ अर्ब घटेर २९ खर्ब १७ अर्बमा झरेको छ ।
यस साता १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ । यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको हो भने व्यापार उपसमूहको ०.४७ प्रतिशत बढेको हो ।
यस साता ११ उपसमूहमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा बढी २.६७ प्रतिशत घटेको छ । गत साता १४४७.५० विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता ३८.५९ अंक घटेर १४०८.९१ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १०५.५३ अंक घटेको छ ।
यस साता नेप्सेमा कुल २ करोड १२ लाख २ हजार २९२.९३ कित्ता शेयर सूचीकृत भएको छ । यस साता दुई कम्पनीको हकप्रद शेयर, एकको बोनस शेयर र एकको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।















