Dhulikhel Eco Banner new

प्रिमियर इन्टरनेशनल स्कूलमा थ्योरी अफ नलेज प्रदर्शनी सम्पन्न

2K
shares

काठमाडौं, २० जेठ । नेपालकै पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय पाठ्यक्रम सञ्चालन गर्ने विद्यालय प्रिमियर इन्टरनेशनल स्कूलमा स्नातक पूर्व तयारी तहको ज्ञान विषयअन्तर्गतको २०८२ सालको ‘टोक प्रदर्शनी’ भव्य रूपमा सम्पन्न भएको छ। ‘ज्ञान मेला’ शीर्षकमा गरिएको यस प्रदर्शनीले विद्यार्थीहरूले प्रस्तुत गरेका ज्ञान, अनुसन्धान र चिन्तन क्षमतालाई उजागर गर्ने लक्ष्य राखेको थियो।

स्नातक पूर्व तयारी तहको पहिलो वर्षमा रहेका विद्यार्थीहरूले तीनवटा वास्तविक सामग्रीहरूका माध्यमबाट ज्ञानसँग सम्बन्धित गम्भीर प्रश्नहरूमा आधारित विचार प्रस्तुत गरेका थिए। प्रत्येक सामग्रीमा लेखिएको विवरणले विद्यार्थीहरूको तर्क, विवेक र विश्लेषण क्षमताको गहिरो प्रस्तुति दिएको थियो।

यो प्रदर्शनी सो पाठ्यक्रमको अनिवार्य मूल्यांकन मध्ये एक हो, जसले विद्यार्थीलाई जीवनका विविध पक्षमा ज्ञान कसरी लागु गर्न सकिन्छ भन्ने कुरा बुझ्न मद्दत गर्दछ।

‘ज्ञान मेला’ नामले यस कार्यक्रमलाई केवल एक प्रदर्शनी नभई स्थानीय सन्दर्भमा ज्ञानको उत्सवका रूपमा स्थापित गर्ने उद्देश्य लिएको थियो। नेपाली समाजको मौलिकता र संस्कृतिसँग मेल खाने नामका कारण अभिभावक तथा समुदायसँगको सम्बन्ध अझ प्रगाढ बनेको देखिएको छ।

प्रदर्शनीमा प्रस्तुत विषयवस्तुहरूमा कृत्रिम बौद्धिकता, ऐतिहासिक दृष्टिकोण, जातीय ज्ञान प्रणाली, वैज्ञानिक अनुसन्धानमा नीतिकता जस्ता विविध गहिरा पक्ष समेटिएका थिए। कार्यक्रमको अवलोकनमा प्रिमियरकै प्राथमिक, आधारभूत र माध्यमिक तहका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू उपस्थित थिए।

विद्यालयकी शिक्षिका शमा क्षेत्रीले मन्तव्य राख्दै भनिन्, “टोक प्रदर्शनीले विद्यार्थीको सोचको सीमा फराकिलो बनाउँछ, आत्मनिर्भर बनाउँछ, र जीवनमा आवश्यक पर्ने बौद्धिक उपकरणहरूको विकास गर्छ।” उनले विद्यार्थीहरूको तर्कशक्ति, विश्लेषणात्मक दृष्टिकोण र जिज्ञासालाई प्रशंसनीय बताए।

विद्यालय व्यवस्थापनले पनि यस पहलको खुलेर सराहना गरेको छ। व्यवस्थापनका अनुसार, अन्तर्राष्ट्रिय पाठ्यक्रमले विद्यार्थीलाई गहिरो अध्ययनसँगै आलोचनात्मक सोच, आत्मविश्वास र विश्वदृष्टिकोण प्रदान गर्ने कार्य गर्दछ।