सिन्धु विकास बैंकको खुद नाफा बढ्यो
वि.सं.२०८२ साउन ६ मंगलवार १०:४३
shares

काठमाडौं, ६ साउन । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। बैंकको प्रकाशित गरेको वित्तीय विवरण अनुसार, अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा बैंकको खुद नाफा २८७.६० प्रतिशतले वृद्धि भएको हो।
बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ करोड ४ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो भने यो वर्षको सोही अवधिसम्म ११ करोड ७८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो। नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी पनि उल्लेखनीय रूपमा सुधार भएको छ। अघिल्लो वर्षको ५.४६ रुपैयाँ बढेर यस वर्ष २१.१५ रुपैयाँ पुगेको छ, जसले बैंकको आम्दानी क्षमतामा स्पष्ट सुधार देखाउँछ।
तर बैंकको खुद ब्याज आम्दानी भने यस अवधिमा घटेको छ। अघिल्लो वर्ष १९ करोड १४ लाख रुपैयाँ रहेको ब्याज आम्दानी यो वर्ष ३०.१४ प्रतिशतले घटेर १३ करोड ३७ लाख रुपैयाँमा झरेको छ। यद्यपि, बैंकले अन्य स्रोतहरूबाट राम्रो आम्दानी गर्न सफल भएको छ। खुद सञ्चालन आम्दानी २० करोड ५९ लाख रुपैयाँबाट ६०.१२ प्रतिशतले बढेर ३२ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
यसका साथै, बैंकको सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा उकालो लागेको छ। अघिल्लो वर्ष २ करोड ९६ लाख रुपैयाँमात्रै रहेको सञ्चालन नाफा ४१७.३९ प्रतिशतको वृद्धिसाथ १५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । जसले बैंकको व्यवस्थापन क्षमता र सञ्चालन सुधारमा देखिएको सफलता झल्काउँछ।
हाल बैंकको चुक्ता पूँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा २० करोड ७५ लाख रुपैयाँ ऋणात्मक भए पनि, रिजर्भमा १३ करोड ३४ लाख रुपैयाँ रहेको देखिएको छ। बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्ष १०.६३ प्रतिशत रहेकोमा घटेर ६.०३ प्रतिशतमा झरेको छ । जुन बैंकको कर्जा व्यवस्थापनमा सुधार संकेत हो। यद्यपि, बैंकको वितरणयोग्य नाफा भने हाल २० करोड ७५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको देखिएको छ। बैंकको प्रति शेयर नेटवर्थ ८६.७० रुपैयाँ रहेको छ।
सिन्धु विकास बैंकको यो त्रैमासिक प्रतिवेदनले आगामी दिनमा बैंकले अझ प्रभावकारी वित्तीय प्रदर्शन गर्ने अपेक्षा बलियो बनाएको छ।


















