Dhulikhel Eco Banner new

विद्युतीय सवारीसाधनको आयातमा १६ प्रतिशत वृद्धि, एक वर्षमै १३ हजार बढी ईभी भित्रिए

2.21K
shares

काठमाडौं, ६ साउन । पछिल्लो एक वर्षमा नेपाली अटो बजारले उल्लेखनीय सुधार देखाएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ युनिट विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका छन्।

सरकारले यी सवारीसाधनको आयातबाट १९ अर्ब ७० करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या १६ प्रतिशतले बढी हो। २०८०/८१ मा ११ हजार ७०१ युनिट ईभी गाडी आयात भएका थिए।

सबैभन्दा धेरै ईभी चीनबाट आयात भएको देखिन्छ। चीनबाट मात्रै १० हजार २०७ युनिट, अर्थात् कुल आयातको ७५.२२ प्रतिशत गाडी नेपाल भित्रिएको छ। तीमध्ये अधिकांश गाडीहरू ५०–१०० किलोवाट क्षमताका छन्।

भारत दोस्रो ठूलो आपूर्तिकर्ता रहेको छ, जहाँबाट ३ हजार २४६ युनिट ईभी नेपाल भित्रिएका छन्। त्यसबाहेक जर्मनीबाट ३७, अमेरिका ११ र दक्षिण कोरियाबाट ६ युनिट गाडी आयात भएको विभागको विवरणमा उल्लेख छ।

विद्युतीय सवारीको प्रयोग बढेसँगै देशभर चार्जिङ स्टेशनहरूको संख्या पनि उल्लेखनीय दरमा वृद्धि भएको छ । जसले उपभोक्तालाई थप सहजता दिएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला ईभीहरू समेत भित्रिन थालेपछि विद्युतीय सवारीको बजार अझ विस्तार हुने अपेक्षा गरिएको छ।

हाल नेपाली बजारमा बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्रान्डहरूसँगै टाटा, हुन्डाइ, महिन्द्रा, किया जस्ता भारतीय ब्रान्डहरूको लोकप्रियता उच्च रहेको छ। खासगरी ५१–१०० किलोवाट क्षमताका गाडीहरूमा नेपाली उपभोक्ताहरूको आकर्षण बढी देखिएको छ।