Dhulikhel Eco Banner new

उपकार लघुवित्त नाफामा फर्कियो, ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा

1.87K
shares

काठमाडौं, २० साउन । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म ३ करोड ५१ लाख रुपैयाँ नोक्सानीमा रहेको लघुवित्त यो वर्ष ३ करोड ४२ लाख रुपैयाँ खुद नाफामा पुगेको हो।

संस्थाले सम्भावित जोखिम व्यवस्थापनको लागि छुट्याएको रकममा कमी आएको कारण लघुवित्त नाफामा पुगेको देखिएको हो। अघिल्लो आर्थिक वर्षमा ६ करोड ३९ लाख रुपैयाँ सम्भावित जोखिम बापत छुट्याएको लघुवित्तले हाल भने १ करोड ८ लाख रुपैयाँ मात्र छुट्याएको छ।

समीक्षा अवधिमा उपकार लघुवित्तको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत, अन्य सञ्चालन आम्दानी १०५.४४ प्रतिशत, र कुल सञ्चालन आम्दानी २२.८१ प्रतिशतले वृद्धि भएको छ।

असार मसान्तसम्ममा लघुवित्तको प्रति शेयर आम्दानी (ईपीएस)३२ रुपैयाँ २६ पैसा, प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा, र मूल्य–आम्दानी अनुपात (पी–ई रेसियो) १०५.०७ गुणा रहेको विवरणमा उल्लेख गरिएको छ।

हाल उपकार लघुवित्तको चुक्ता पूँजी १० करोड ६१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ।

संस्थाले हालसम्म ९२ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४० करोड २७ लाख रुपैयाँ सापटी मार्फत २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।