Dhulikhel Eco Banner new

ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण माध्यम लघुवित्त होः अध्यक्ष यादव

7.06K
shares

काठमाडौं, २८ कात्तिक । लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा महत्वपूर्ण माध्यम लघुवित्त भएको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को छैठौँ साधारण सभामा बोल्दै उनले लघुवित्तले वित्तीय समावेशीता विस्तार, महिला सशक्तिकरण, वित्तीय साक्षरता वृद्धि र स्थानीय स्तरको उद्यमशीलता विकासमा निर्णायक भूमिका खेलेको बताएका हुन् ।

यादवका अनुसार अहिले देशभर ६२ लाखभन्दा बढी नागरिक लघुवित्तसँग जोडिएका छन् भने २७ लाखभन्दा बढीले लघुवित्तको कर्जाबाट साना व्यवसाय सञ्चालन गरेका छन्। लघुवित्तलाई ‘ठूलो र व्यापक क्षेत्र’ का रूपमा उल्लेख गर्दै उनले यसलाई अझ विस्तार गर्नुपर्ने आवश्यकतासमेत औंल्याए।

अध्यक्ष यादवले बैंकिङ क्षेत्रमा पर्याप्त लगानीयोग्य रकम भए पनि ग्रामीण क्षेत्रले अपेक्षित कर्जा नपाएको कारण मौद्रिक नीतिका अवरोध भएको बताए। “नीतिगत सुधार भयो भने थुप्रिएको लगानीयोग्य रकम ग्रामीण क्षेत्रमा लैजाने वातावरण बन्छ,” उनले भने ।

उनले माइक्रोफाइनान्समार्फत २०–२५ लाखसम्मको लगानी ग्रामीण क्षेत्रमा पुर्‍याउन मार्ग खुला गर्नुपर्ने धारणा राखे । ग्रामीण क्षेत्रमा उद्यमशीलता बढाउन नीतिगत परिवर्तन अपरिहार्य रहेको उनले जोड दिए । “बिनाधितो ७ लाखसम्म कर्जा दिन ठीक छ, तर धितो राखेर लगानी गर्न १५ लाखसम्मको व्यवस्था हुनुपर्छ,” यादवले भने।

यादवले लघुवित्तलाई थप सशक्त बनाएर कृषि व्यवसायीकरणमा केन्द्रित हुनुपर्ने बताए । उनले गाई–भैसी पालन तथा अन्य कृषि उद्यममा संलग्न किसानलाई बीमा सेवा पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै लघुवित्त र बीमा क्षेत्रबीच सहकार्य बढाउनुपर्ने सुझाव दिए ।

अध्यक्ष यादवका अनुसार ग्रामीण अर्थतन्त्रको उद्यमशीलता, वित्तीय पहुँच र उत्पादकता बढाउन लघुवित्त सबैभन्दा प्रभावकारी माध्यम बनेको छ ।