Dhulikhel Eco Banner new

राष्ट्र बैंकद्वारा सहकारी बैंकको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड तोकियो

1.79K
shares

 

काठमाडौं, ६ पुस । नेपाल राष्ट्र बैंकले सहकारी बैंकको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ। केन्द्रीय बैंकले सीमित बैंकिङ कारोबार गर्ने उद्देश्यले स्थापना भएको सहकारी बैंकका लागि नयाँ निर्देशिका जारी गर्दै चुक्ता पुँजी तथा न्यूनतम पुँजीकोषसम्बन्धी व्यवस्था कडाइ गरेको हो।

नयाँ व्यवस्थाअनुसार सहकारी बैंकको पुँजी संरचना साधारण शेयरबाट मात्र बनेको हुनुपर्नेछ। साथै, सहकारी बैंकले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी ४ प्रतिशत र कुल पुँजीकोष अनुपात ८ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार चुक्ता पुँजी ९साधारण शेयर०, प्रस्तावित बोनस शेयर, जगेडा कोष, सञ्चित नाफा वा नोक्सान तथा प्रयोजन नखुलाई स्वतन्त्र रूपमा खडा गरिएका स्वतन्त्र कोषमा रहेको रकम प्राथमिक पुँजीमा समावेश गरिनेछ। तर, प्राथमिक पुँजी गणना गर्दा ख्याति ९गुडविल०, स्थगन कर सम्पत्ति, संगठित संस्थाको शेयर तथा सुरक्षणपत्रमा गरिएको लगानी, साथै अवास्तविक सम्पत्तिसम्बन्धी शीर्षकमा रहेको रकम घटाउनुपर्नेछ।

केन्द्रीय बैंकले पुँजीकोषसम्बन्धी निर्देशन पालना नगरेमा कारबाही गर्ने व्यवस्था पनि गरेको छ। राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपातभन्दा सहकारी बैंकको पुँजीकोष अनुपात २५ प्रतिशतसम्मले कम भएमा सम्बन्धित सहकारी बैंकको उच्च व्यवस्थापनसँग सुधार कार्यक्रमबारे छलफल गरिनेछ र त्यसको अभिलेख राखिनेछ।

यस्तै, पुँजीकोष कमजोर रहेका सहकारी बैंकलाई पुँजी वृद्धि योजना पेश गर्न निर्देशन दिन सकिनेछ। त्यस्ता बैंकलाई नगद लाभांश तथा बोनस शेयर घोषणा गर्न, नयाँ शाखा विस्तार गर्न, साथै सञ्चालकको भत्ता तथा सुविधा र कार्यकारी प्रमुखसहित उच्च व्यवस्थापनको तलब, भत्ता तथा सुविधा वृद्धि गर्न समेत रोक लगाइने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले सहकारी बैंकलाई प्रुडेन्ट बैंकिङ अभ्यासमा ल्याउँदै वित्तीय स्थायित्व सुनिश्चित गर्न यी नयाँ व्यवस्था लागू गरिएको जनाएको छ।