Dhulikhel Eco Banner new

लघुवित्त विरुद्ध महिलाहरुले घोषणा गरे आन्दोलन

8.49K
shares

काठमाडौं, १९ जेठ । लघुवित्तिय संस्थाविरूद्वको संघर्ष समिति नेपालले असोज २५ गते काठमाडौंमा लाखौं पीडित महिला उतारेर वृहत विरोध सभा गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले लघुवित्तिय संस्थाको खारेजी नगरेसम्म आन्दोलन गर्ने बताएको हो ।

उक्त विरोध कार्यक्रमलाई संघर्ष समितिले राजनीतिक दल, नेपाल सरकार, मानव अधिकारवादी संघ संस्थाहरु, पत्रकार, बृद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी लगायत सम्पुर्ण देश र विदेशमा रहने सबैले आर्थिक, नैतिक र भौतिक समर्थन र सहयोग गर्न अनुरोध गरेको छ ।

समितिले गत फागुन ५ गतेदेखि लघुवित्तका सबै बैठकहरु वहिस्कार गरेर लघुवित्तविरुद्ध संघर्षको कार्यक्रम सुरु गरेको हो । अहिलेसम्म १० जिल्लामा संरचना गठन गरेको र ३५ जिल्लामा सम्पर्क समिति गठन हुने क्रममा रहेको पनि समितिले जानकारी दिएको छ । लघुवित्तिय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण मिनाहा गर्न, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न र समाजवादी अर्थतन्त्रको विकास गर्न समितिले माग समे तगरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मणिराम ज्ञवालीले गत माघ १८ गते गुल्मीदरबार गाउँपालिका, फागुन ५ गते शिवराज नगरपालिकामा ५ बुदे माग पत्र पेश गरिसकेको जानकारी दिएका थिए । उनले आफुहरुले ग्रामिण महिलाहरुको हितको लागि असोज २५ गते काठमाडौंमा गर्ने बृहत विरोध सभामा सहभागि हुन सम्पुर्ण नागरिकहरुलाई आग्रह समेत गरे ।

उनले भने,‘अब सबै लघुवित्तीय संस्थविरुद्धमा एकजुट भई संघर्षमा जुट्नुपर्छ । अहिले सम्म व्यवस्था परिवर्तनको लागि आन्दोलनमा गर्दै आयौ अब महिलाहरुको लागि आन्दोलन गर्नेछौ ।’ राष्ट्र बैंकले लघुवित्तिय संस्था सञ्चालन गरेर महिलाहरुलाई रोजगारी दिने र आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य लिएपनि उद्देश्य अनुुसार काम नभएको आरोप लगाए । यसबाट ग्रामिण महिलाहरु उल्टै उत्पपिडनमा परेको उनले जिकिर गरे ।

लघुवित्तमा संलग्न २ प्रतिशत महिला विस्थापित र सयौं महिलाहरुले आत्महत्या गरेको तथ्याकं उनले सुनाए । ‘समाजमा अहिले कलह उत्पन्न भएको अवस्था छ । समाजमा महिला–महिलाबीच लडाइ भइरहेको छ । यसको जिम्मा कसले लिने ?’ उनले भने,‘नेपाली जनताको आय अवस्थाको परिवर्तन सरकार र राजनीतिक दल गर्नुपर्ने थियो तर गर्न सकेन । सरकारको उदेश्य विपरित लघुउद्यमहरुले आफ्नो जीविका पालन मात्र गर्न खोजे, सही तरिकाले परिचालन गर्न सकेनन् । नाफा कमाउन तीर लागेपछि प्रभाव हिन भएको आज नेपालमा लघुउद्यममा ह्रास आइरहेको छ ।’

त्यस्तै, संघर्ष समितिको सदस्य विष्णुमाया बुढाथोकीले लघुवित्तको ऋण लिएर महिलाहरुले ब्याज र किस्ता बुझाउँदा झन् पीडित भएको गुनासो पोखिन् । महिलाहरुले दुःखले गर्दा ऋण लिन परेको र तिर्न नसक्दा महिलाहरुलाई झनै अफ्ठेरोमा परेको उनले सुनाईन् । लघुवित्तकै ऋणको कारण २ प्रतिशत महिलाहरुले आत्महत्या गरिसकेको समेत उनले दाबी गरिन् ।

संघर्ष समितिका अर्का सदस्य एलिमा खातुनले लघुवित्तको ब्रह्मलुट र ग्रामिण महिलाप्रति गरेको ज्यादतीको विरुद्ध अब भण्डारफोर गर्ने बताइन् । उनले मिलेर बसेको गाउँपारिवारको समाजलाई लघुवित्त गाउँ–गाउँ पसेर मनग्य कमाउनको लागि ऋण प्रवाह गरको आरोप दाबी गरिन् । पैसाको आवश्यकता भएपनि गाउँका महिलाहरु ऋण लिएपछि तिर्न नसक्ने अवस्थामा गुज्रिएको उनको भनाई थियो ।