Dhulikhel Eco Banner new

देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै संघीय समाजवादी पार्टीको अपिल

1.03K
shares

काठमाडौं, १३ साउन । नेपाल संघीय समाजवादी पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

पार्टीले घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क र प्रभावकारी रूपमा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन आयोग गठन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने पार्टीको माग छ। यसले मात्र सामाजिक विश्वास कायम हुने पार्टीको भनाइ छ।

संघीय समाजवादी पार्टीले देवानगञ्ज घटनालाई बहाना बनाएर कोशी प्रदेश, मधेश प्रदेशलगायत विभिन्न क्षेत्रमा विशेष धार्मिक समुदायलाई लक्षित गरी भएका कुटपिट, लुटपाट, आगजनी, धार्मिक स्थलमाथिको आक्रमण तथा सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधिप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र प्रत्येक नागरिकको जीवन, सम्पत्ति, आस्था तथा धार्मिक स्वतन्त्रताको पूर्ण सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।

पार्टीले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले धार्मिक तथा जातीय द्वन्द्वले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कमजोर बनाउने चेतावनी दिएको छ। कुनै पनि समुदायविरुद्ध घृणा फैलाउने, हिंसा भड्काउने वा सामाजिक सद्भाव बिथोल्ने प्रयास स्वीकार्य नहुने उल्लेख गर्दै धार्मिक, जातीय र सांस्कृतिक विविधता नेपालको शक्ति भएको र त्यसलाई कमजोर बनाउने गतिविधि राष्ट्रहितविपरीत हुने धारणा सार्वजनिक गरेको छ।

विज्ञप्तिमार्फत पार्टीले लोकतान्त्रिक गणतन्त्र, संविधान, कानुनी शासन तथा सामाजिक सद्भावको संरक्षणका लागि सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिएको छ। साथै अफवाह र उत्तेजनामा नलागी संयम, धैर्य र विवेक अपनाउन तथा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई अपिल गरेको छ।

पार्टीले सरकारसँग घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा पीडितलाई न्याय दिलाउन तत्काल प्रभावकारी कदम चाल्न माग गरेको छ।