Dhulikhel Eco Banner new

प्रभु बैंकको मूनाफामा छलाङ, अन्य सूचकहरु पनि अधिकांश ‘पोजिटिभ’

3.07K
shares

काठमाडौं, २१ साउन । प्रभु बैंकले एकै वर्ष साढे ४ अर्ब खुद नाफा कमाएको छ । बैंकको नाफा र अधिकांश सूचकहरुमा पनि सुधार देखिएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १४९९.०४ प्रतिशत बढी भएको छ । गत वर्ष बैंकले ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा पनि बैंकले २८ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको अधिकांश सूचकहरुमा सुधार देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १९ रुपैयाँ ०३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ७६ पैसा कायम भएको छ। अघिल्लो आवमा ४.९८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष आइपुग्दा भने घटेर ४.७८ प्रतिशत कायम भएको छ ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी पनि १९.४३ प्रतिशत बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ कायम भएको छ । बैंकको संचालन नाफा पनि बढेर ७ अर्ब ५ करोड ५० लाख रुपैयाँ कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफामा पनि बढोत्तरी देखिएको हो ।

बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २२ करोड ३९ लाख ४५ हजार रहेको छ। आफ्ना सेयरधनीलाई बैंकले ५.२० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ । हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकको जगेडा तथा कोषमा भने १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ छ।

समिक्षा वर्षमा बैंकको निक्षेप संकलन भने ३.५१ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब १ करोड २८ लाख रुपैयाँ कायम भएको छ । तर, कर्जा लगानी भने ३.८३ प्रतिशत घटेर २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह २ अर्ब ८९ करोड ९ लाख र २ खर्ब ३४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।