Dhulikhel Eco Banner new

लिटिल एन्जल्सलाई आईविबी किड्स कप उपाधि

572
shares

काठमाडौं, ३ साउन । लिटिल एन्जल्स स्कुलले पहिलो संस्करणको आईविबी किड्स कप २०२६ को उपाधि जितेको छ। आइतबार सम्पन्न रोमाञ्चक फाइनलमा लिटिल एन्जल्सले काष्ठमण्डप विद्यालयलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो।

आईविबी नेपालको आयोजनामा भएको प्रतियोगिता १० वर्षमुनिका बाल फुटबल खेलाडीहरूलाई लक्षित अन्तरविद्यालय फुटबल प्रतियोगिता हो। फिफा विश्वकपको अवधारणाबाट प्रेरित प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल, डीएभी स्कुल, दरबार हाई स्कुल, प्राइम ग्लोबल स्कुल, काष्ठमण्डप विद्यालय, लिटिल एन्जल्स स्कुल, क्याम्पियन स्कुललगायत आठ विद्यालयले आठ फरक देशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका थिए।

फाइनल खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि लिटिल एन्जल्सले ३–२ को जित निकाल्दै उपाधि जित्यो भने काष्ठमण्डप विद्यालय उपविजेतामा सीमित बन्यो।

व्यक्तिगत विधातर्फ लिटिल एन्जल्सका आशुतोष पाण्डे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ९एमभीपी० घोषित भए। काष्ठमण्डप विद्यालयका सम्राट विक्रम शाह उत्कृष्ट गोलरक्षक चुनिए।

समापन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले विजेता टोलीलाई ट्रफी प्रदान गरे भने प्रथम उपाध्यक्ष प्रज्वल ओलीले उत्कृष्ट खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार वितरण गरे।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले ग्रासरुट फुटबलको विकासका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै आयोजक आईविबी नेपालको प्रशंसा गरे।

प्रतियोगिताको उद्घाटन ९ जुलाई २०२६ मा भएको थियो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी क्याप्टेन विजय लामाले युवा खेलाडीहरूको खेल भावना र प्रतिभाको प्रशंसा गर्दै भविष्यमा उनीहरू अन्तर्राष्ट्रिय स्तरमा पुग्ने विश्वास व्यक्त गरेका थिए।

आईविबी किड्स कप २०२६ ले बाल खेलाडीहरूलाई प्रतिस्पर्धा, मित्रता, आत्मविश्वास, टिमवर्क र निष्पक्ष खेलको भावना विकास गर्ने प्रभावकारी मञ्च प्रदान गरेको आयोजकले जनाएको छ।