नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार अवलोकनकर्ता
वि.सं.२०८३ साउन २८ बिहीवार १०:०३
shares

आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अनुसार दोस्रो दिन मात्रै २६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्। उद्घाटनको दिन २९ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका थिए। एक्स्पो अवधिभर करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोमा विभिन्न ब्रान्डका कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ। विशेषगरी विद्युतीय सवारीका ब्याट्री क्षमता, मोटर, रेन्ज र आफ्टर–सेल्स सर्भिसबारे ग्राहकले चासो राखिरहेका छन्। केही अवलोकनकर्ताले एक्स्पोकै अवसरमा आफूलाई मनपरेका सवारी बुकिङसमेत गरिरहेका छन्।
ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा र सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन्।
एक्स्पोको दोस्रो दिन विभिन्न ब्रान्डले चार नयाँ मोडल सार्वजनिक गरेका छन्। पहिलो दिन भने ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक भएका थिए।
यसैबीच, दोस्रो दिन ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा मोबिलिटी संवाद आयोजना गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला लगायत सहभागी थिए। संवादमा ३०० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो ६ दिनसम्म सञ्चालन हुनेछ। एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डसहित नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन्।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि सवारी खरिदका लागि विभिन्न सहुलियत तथा विशेष अफर उपलब्ध गराएका छन्।















