Dhulikhel Eco Banner new

यातायात सुधारमा प्रविधि र सुरक्षालाई प्राथमिकता

234
shares

काठमाडौँ, २८ साउन ।पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधिले सार्वजनिक यातायात सुधारका लागि नीति निर्माणसँगै प्रविधिको विकास र सडक सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पोअन्तर्गत आयोजित ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयक नाइमा मोबिलिटी संवादमा निधिले सरकारले सार्वजनिक यातायात सुधारलाई उच्च प्राथमिकतामा राखेको बताए। उनका अनुसार २५ वर्षपछि जारी राष्ट्रिय यातायात नीति २०८३ मा सार्वजनिक यातायात सुधारका विषय समेटिएका छन्।

सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै उनले यातायातमा जडान गरिने प्रविधिका लागि आवश्यक मापदण्ड लागू गर्ने काम भइरहेको जानकारी दिए।

नयाँ सरकार गठन भएको चार महिनामा यातायात क्षेत्र सुधारका लागि विभिन्न काम अघि बढाइएको दाबी गर्दै निधिले सडक सुरक्षा र यातायात व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएको बताए।

सरकारले राइड सेयरिङ एपलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड ल्याउने तयारीसमेत गरिरहेको उनले बताए। राइड सेयरिङमा लगाइएको कर यस क्षेत्रलाई नियमन गर्ने उद्देश्यले ल्याइएको उनको भनाइ छ।

यस्तै, सार्वजनिक सडक ऐनमार्फत संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट गर्ने तथा सोहीअनुसार सडक पूर्वाधार सुधार गर्ने तयारी भइरहेको निधिले बताए।

देशभर हुने सवारीसम्बन्धी कसुरलाई वर्गीकरण गरी सवारीको गुणस्तर, दोहोरिएका गल्ती, कसुरको प्रकृति र पूर्वाधारको कमजोरीका कारण भएका दुर्घटनालगायत विषयमा छुट्टाछुट्टै अध्ययन गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए।

यातायातसम्बन्धी नयाँ ऐन तथा मापदण्ड निर्माण गर्दा सम्बन्धित सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढ्ने निधिले बताए।