२८ वर्ष पूरा गर्दै एनआईसी एशिया बैंक
वि.सं.२०८२ साउन ५ सोमवार १४:५४
shares

काठमाडौं, ५ साउन । ‘बैंक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि’ भन्ने नारासहित अघि बढेको एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको छ। स्थापनाको दिन अर्थात् श्रावण ५ गते, बैंकले २८ औं वार्षिकोत्सव मनाउँदै आफ्ना ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
देशभर आधुनिक, प्रविधिमैत्री तथा पहुँचयुक्त सेवा पुर्याउने लक्ष्यसहित बैंकले हालसम्म ३६० शाखा, ६७० एटिएम, ११६ विस्तारित काउन्टर तथा ४२ शाखा रहित सेवा केन्द्रमार्फत बैंकिङ्ग सेवा विस्तार गरिसकेको छ।
डिजिटल फस्ट बैंक बन्ने दृषिकोणले अगाडि बढिरहेको बैंकले अब ग्रामीण तथा दुर्गम भेगमा समेत वित्तीय पहुँच पु¥याउन सफल भएको छ। मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरू न्यून रहेका क्षेत्रमा समेत सेवा विस्तार गरी बैंकले वित्तीय समावेशीकरणमा उल्लेखनीय योगदान दिएको छ।
सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, “२८ वर्षको यो यात्रामा हामीसँग जोडिनुहुने सबैप्रति हामी कृतज्ञ छौं। आगामी दिनहरूमा अझ नविन, सहज र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै सबैको पहिलो रोजाईको बैंक बन्ने अठोट लिएका छौं।”
बैंकले आफ्नो २८ वर्षको यात्रालाई “सबल, गतिशील, उत्तरदायी र विश्वासिलो” बनाउँदै देशको आर्थिक विकासमा निरन्तर योगदान पुर्याउने योजना रहेको जनाएको छ।



















