एनआईसी एशिया बैंकद्वारा ‘अठोट लोन अगेन्स्ट शेयर’ योजना सार्वजनिक
वि.सं.२०८२ साउन १३ मंगलवार ११:२९
shares

काठमाडौं, १३ साउन । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ एनआईसी एशिया बैंकले नयाँ कर्जा योजना ‘एनआईसी एशिया अठोट लोन अगेन्स्ट शेयर’ सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले ८।१७ प्रतिशत ब्याजदरमा शेयर धितो राखेर सहज तरिकाले कर्जा लिन सक्नेछन्।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार, यो कर्जा योजना औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी निर्धारण गरिएको हो। शेयर बजारलाई समेट्ने गरी ल्याइएको यस योजनामार्फत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत अन्य कम्पनीहरूको साधारण शेयर धितो राखेर कर्जा उपलब्ध गराइनेछ।
यस योजनाअनुसार, ग्राहकले आफ्नो शेयरको पछिल्लो कारोबार मूल्य वा १८० दिनको औसत मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। ५० लाखदेखि १५ करोडसम्मको कर्जा प्रदान गरिने व्यवस्था गरिएको छ।
तीन कार्य दिनभित्र कर्जा स्वीकृत गरिने गरी आन्तरिक प्रक्रिया सरलीकरण गरिएको बैंकले जनाएको छ। यस योजनाले शेयर लगानीकर्तालाई छिटो, सरल र पारदर्शी सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
बैंकले ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरी ग्राहकका गुनासो, जिज्ञासा तथा सुझावहरूलाई एकद्वार प्रणालीमार्फत छिटो समाधान गर्ने व्यवस्था मिलाएको छ।
एनआईसी एशिया बैंकले यस योजनामार्फत ग्राहकमैत्री सेवा प्रदान गर्दै शेयर बजारमा लगानी गर्न चाहनेहरूलाई वित्तीय पहुँच सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।



















