Dhulikhel Eco Banner new

सञ्चारमन्त्रीमा सूचना प्रविधि विशेषज्ञ केशव नेपालको चर्चा

3.87K
shares

काठमाडौं, २ असोज । सूचना प्रविधि क्षेत्रका प्रखर अभियन्ता तथा वर्ल्डलिंक कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत केशव नेपाललाई सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रूपमा ल्याउने चर्चा तीव्र बनेको छ।

नेपालकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले दक्ष, इमान्दार र दूरदर्शी व्यक्तिहरूलाई मन्त्रिपरिषदमा स्थान दिने नीति लिएको बताइएको छ। यसअघिका नियुक्तिहरू—रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा र ओमप्रकाश अर्याल गृह समेत सोही आधारमा भएका हुन्। सोही क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि केशव नेपालको नाम अग्रपंक्तिमा आएको हो।

केशव नेपाल नेपालमा वायरलेस इन्टरनेट प्रविधि बिना फोन लाइनको सफल प्रयोग गर्ने पहिलो व्यक्तिमा गनिन्छन् । उनले दशकौँदेखिको आफ्नो व्यावसायिक अनुभवमार्फत देशको विकट भेगसम्म पनि सहज र सस्तो इन्टरनेट पुर्याउने अभियान चलाएका छन्।

सूचना प्रविधिको पहुँच सबै नेपालीसम्म पुगोस् भन्ने उद्देश्यले उनले वर्ल्डलिंकमार्फत विभिन्न नवीनतम योजना र प्रविधिहरू कार्यान्वयनमा ल्याएका छन् । डिजिटल नेपाल अभियानलाई व्यावहारिक रूपमा अघि बढाउने क्रममा उनले खेलेको भूमिकालाई प्रविधि क्षेत्रले ‘सपना साकार पार्ने भनेर चिन्ने गरेको छ।

उनको योगदान केवल निजी क्षेत्रसम्म सीमित छैन। उनले नीति निर्माणमा पनि प्राविधिक सुझावहरू दिंदै आएका छन्, जसले सूचना प्रविधिको दिगो विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ। यदि केशव नेपाल सञ्चारमन्त्री नियुक्त भएमा, डिजिटल पूर्वाधार, साइबर सुरक्षादेखि लिएर ग्रामीण इन्टरनेट विस्तारसम्मका क्षेत्रमा उल्लेखनीय सुधार हुने विज्ञहरू विश्वास गर्छन् ।