नेशनल लाइफद्वारा गण्डकी प्रदेशका सिईओ क्लब सदस्य अभिकर्ता सम्मानित
वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:४७
shares

काठमाडौं, १६ कार्तिक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरास्थित होटल वाटरफ्रन्टमा विशेष समारोह आयोजना गरी गण्डकी प्रदेशका सिईओ क्लब सदस्य अभिकर्ताहरुलाई सम्मान गरेको छ। कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८१ ८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य ठहरिएका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सिईओ क्लबका सदस्य बन्न सफल अभिकर्ताहरुलाई सदस्यता प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । सो अवसरमा आफ्नो कोड तथा सञ्जालमा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त अभिकर्ताहरुलाई विशेष सम्मान र पुरस्कार प्रदान गरिएको थियो । साथै, गण्डकी प्रदेशबाट ‘नेशनल रत्न’ र ‘नेशनल स्टार’ विजेताहरुलाई नेशनल लाइफ लोगो अंकित चाँदीको पदक, प्रमाणपत्र र खादाद्वारा सम्मान गरिएको थियो ।
खत्रीले कार्यक्रममा कम्पनीले अभिकर्ता मैत्री योजना अन्तर्गत सिईओ क्लब सदस्यता योजना ल्याएको र यसमा नेपालभरबाट १६०० भन्दा बढी अभिकर्ता छनोट हुन सफल भएको जानकारी दिए। उनले गण्डकी प्रदेशबाट सुरु गरिएको सम्मान कार्यक्रम क्रमशः अन्य प्रदेशहरूमा पनि निरन्तर रूपमा सञ्चालन गरिने बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले सहभागी अभिकर्ताहरुलाई बीमा व्यवसायमा सफलता प्राप्त गर्न आवश्यक कौशल र मनोविज्ञानसम्बन्धी तालिम प्रदान गरेका थिए । उनले जीवन बीमामा सफल हुनका लागि धेरै व्यक्तिहरूसँग सशक्त रूपमा सम्पर्क विस्तार गरी बीमा सेवा बारे आत्मविश्वासका साथ प्रस्तुत हुनुपर्ने बताए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरको तालिम र कम्पनी नेतृत्वबाट प्राप्त सम्मानले आफ्नो व्यवसायिक यात्रामा थप उर्जा र प्रेरणा प्राप्त भएको बताएका छन् ।
















