Dhulikhel Eco Banner new

भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य

3.08K
shares

काठमाडौं, १४ मंसिर। नेपालको अग्रणी होम आधारित सेवा प्लेटफर्म भेटायो इन्क प्रा. लि. ले आफ्ना फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षालाई केन्द्रमा राख्दै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरेको छ। विश्वसनीय गैर जीवन बीमा कम्पनीका रूपमा परिचित हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको यो साझेदारीमार्फत भेटायोले आफ्नो प्लेटफर्ममार्फत काम गर्ने सबै सेवा प्रदायकका लागि दुर्घटना बीमा कवरेज लागू गरेको हो।

कम्पनीका सह संस्थापक रोचन मान महर्जनका अनुसार सेवा प्रदायकहरू भेटायोको सेवा विस्तारको प्रमुख आधार भएकाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिइँदै बीमा सुविधा उपलब्ध गराइएको हो। “दुर्घटना बीमाले हाम्रा सेवा प्रदायकहरू सुरक्षित रहून्, निडर भएर काम गरून् र आफ्नो करियर विकासमा प्रेरित होंउन् भन्ने हाम्रो लक्ष्य हो,” महर्जनले बताए।

सहकार्यपछि सेवा प्रदायकहरूले सेवा प्रदान गर्ने क्रममा हुन सक्ने आकस्मिक घटनाबाट अतिरिक्त सुरक्षा पाउनेछन्। भेटायोले यो कदमले आफ्नो कार्यबलप्रति जिम्मेवारी तथा प्रतिवद्धता अझै मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

कम्पनीले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई परियोजनामा दिएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस्तो साझेदारीले नेपालमा सेवा उद्योगलाई अझ सुरक्षित, जिम्मेवार र कामदार मैत्री दिशामा अघि बढाउने अपेक्षा गरेको छ।

दुवै संस्थाले भविष्यमा पनि आम नागरिक केन्द्रित, भरपर्दो र सुरक्षित सेवा वातावरण निर्माण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।