Dhulikhel Eco Banner new

‘प्रभु महालक्ष्मीलाई सफल बनाउने हाम्रो उद्देश्य हो, विफल बनाउन खोजे चुप लागिन्न’

24.44K
shares

काठमाडौं, ५ पुस । जीवनको ६५ वसन्त पार गरिसकेका रमेशकुमार भट्टराई मर्जर पछि बनेको प्रभु महालक्ष्मी लाईफमा प्रमुख कार्यकारि अधिकृत छन् । २०३८ सालमा बैंक अधिकृतबाट करिअर शुरु गरेका भट्टराईले विगत २८ वर्षदेखि निरन्तर रुपमै फाईनान्स, बैंक र बीमामा सक्रिय छन् । उनले नेतृत्व गरेका संस्थाहरु सफल नै भएका छन् । एमबीए र कानूनमा स्नात्तक समेत अध्ययन गरेका भट्टराई आफूले नेतृत्व गरेका संस्थाहरु १८ वर्ष नै नाफामा चलेको दावी गर्छन् ।

उमेरले साढे ६ दशक नाघे पनि उनमा जोशजाँगर उत्तिकै छ । काम गर्न उमेर होइन इच्छा शक्ति, क्षमता र दृढ संकल्प् चाहिन्छ, जुन भट्टराईमा छ । प्रस्तुत छ, बैंक तथा बीमा क्षेत्रका अनुभवी भट्टराईसँग रोयल आचार्यले गरेको समसायिक वार्तालापको सम्पादित अंशः

तपाईको नजरबाट देशको वर्तमान अवस्था कस्तो देख्नु हुन्छ ? के देश संकटतिर धकेलिदै छ ?

मुलुको वर्तमान अवस्था एकदमै कहालिलाग्दो छ । श्रम गर्ने युवा जति खाडि मुलुकमा, प्लस टु गरेका गरेका भावी कर्णधार पनि अमेरिका, अष्ट्रेलिया जस्ता देशमा गएका छन् । अलि राम्रा भनिएकाहरु धेरै विकसित मुलुकहरुमा पलायन भइरहेका छन् ।

अर्को तर्फ नेपालले आम्दानी गर्ने पर्यटन क्षेत्रको पनि राम्रो छैन । पर्यटकहरुको संख्या जति बढाउनु पर्ने हो बढाउन सकिएको छैन । अर्को तर्फ रेमिट्यान्सदेखि विदेशशी मुद्राको सञ्चिति समेत जुन लेभलको हुनुपर्ने हुन सकेको छैन ।

गाउँवस्ती रित्तिने र खेतहरु बाझो भएका छन् । उद्योग व्यवसायहरु ठप्प भएका छन् । लक्षित राजश्व नउठेर कर्मचारीलाई तलब खुवाउन गाह्रो परेको अवस्था छ । यो भन्दा कहाली लाग्दो अवस्था के होला ? आफै सोच्नुस् न ।

समग्र अर्थतन्त्रको अवस्था राम्रो छैन । बीमा क्षेत्रको अवस्था चाहिँ कस्तो छ ?

प्रतिकुल अवस्थाबाट बीमा ब्यवसाय अछुतो कसरी रहन सक्छ र ? समग्र बीमा उद्योगको नयाँ व्यवसाय घट्दै गईरहेको छ । पैसा आउने अन्य बाटो बन्द भए पछि पोलिसि कर्जा र सरेन्डर बढदै गईरहेको छ । सामान्य मानिसको प्राथमिकतामा अहिले बीमा परेको छैन । अण्डर राईटिङ प्रोफिट घटदै गईरहेकोले जीवन बीमाको अवस्था चिन्ताजनक हुदैछ । बीमा प्राधिकरणको नियम र व्यवस्था पूर्ण पालना गर्ने हो भने कुनै जीवन बीमा कम्पनीले मूनाफा देखाउन सक्ने अवस्था छैन ।

यो त भयो समग्र बीमा क्षेत्र, प्रभु महालक्ष्मी लाईफको अहिलेको अवस्था कस्तो छ नि ?

मुलुकमा अहिले उद्योग व्यवसाय, बैंक–बीमा तथा सहकारी र लघुवित्त कसैको अवस्था पनि राम्रो छैन । प्रभु महालक्ष्मी लाईफको अवस्था एकदमै राम्रो छ भनेर ठोकुवा गर्दिन । नया व्यवसाय राम्रो बढ्न सकेको छैन । तर हाम्रोमा सरेण्डर कम छ । नवीकरण बीमा शुल्क राम्रो असुली भइराखेको छ । खर्चहरु घटाएका छौँ । अन्य इन्डिकेटरहरु पनि सकारात्मक नै छन् । परिणात्मक हिसाबले व्यवसाय कम भए पनि ग्रोथ रेट घटेको छैन । यसलाई राम्रै पक्ष मान्नु पर्छ ।

तर मर्जरपछि प्रभु महालक्ष्मी लाईफमा आन्तरिक विवाद रहेको हल्ला छ नि, वास्तविकता के हो ?

नेपालमा मात्र हैन संसार मै मर्जर कार्य एकदमै जटिल प्रकृया हो । पैसा खर्च गरेर प्रविधि र व्यवस्था एकीकृत गर्न सकिन्छ । दुई संस्थामा फरक वर्किङ कल्चरबाट आएकाले मिलाएर अघि बढ्न समस्या हुन्छ । कोही अपनत्व लिएर इमान्दारीपूर्वक काम गर्ने हुन्छन् भने कोही जागिरमात्रै खाने खालका हुन्छन् । यि दुई फरक संस्कारकाबीच विवाद हुन्छ । फजुल खर्च रोकिदिदा र काम नगर्नेलाई काम गर भनेर कडाई गर्दा पनि विवाद त हुने नै भयो ।

मर्जर पछि काम गर्ने दुबै कम्पनीका कर्मचारीको सोच र संस्कारलाई एकीकृत गरेर सिनर्जि ल्याउनु पहिलो प्राथमिकता हुनेछ । संस्थागत सुशासनलाई बलियो बनाउदै गुणस्तरीय बीमा ब्यवसाय गर्नु दोश्रो काम हुनेछ ।

कोही गुटवन्दीमा रमाउने हुन्छन् । नचाहिने हल्ला गरेर काम गर्ने कर्मचारीहरुको मनोवल गिराउन त्यस्ताले भूमिका खेल्छन् । हाम्रो संस्थामा काम गर्ने कर्मचारी साथीहरु सबै खुसी हुनुहुन्छ । नचाहिने हल्ला गरेर वातावरण विगार्छन भन्ने कुरामात्रै हो । तर यो सब धेरै दिन चल्दैन । संस्थालाई कमजोर बनाउन खोज्नेहरु नांगिदै जाने छन् । प्रभु महालक्ष्मी लाइफलाई कमजोर बनाउने कुरा मेरो नेतृत्वको व्यवस्थापन मात्रै होइन सञ्चालक समितिलाई समेत कसैलाई पनि सह्य हुँदैन । यो कुरा सबैले बुझ्न जरुरी छ ।

तपाईहरुको आन्तरिक विवाद चाहिँ कसरी शुरु भयो ? यसको चुरो कुरो के हो ?

मर्जर भएका सबै कम्पनीमा धेरै–थोरै विवाद पक्कै हुन्छ । हिजोसम्म एकलौटि रुपमा चलाईरहेको ठाउमा पावर र पोजिसन शेयर गर्नु पर्दा असन्तोष हुनुलाई स्वभाविकै मान्नुपर्छ । अर्को तिर आवस्यकता भन्दा बढि कर्मचारी हुँदा चियो चर्चा, गुटबन्दि र डर्टि पोलिटिक्स हुन्छ ।

विवादले संस्थालाई सफल बनाउद दिदैन । यसको समाधान कसरी हुन्छ त ?

मर्जर पछि प्रधान कार्यालय र क्षेत्रीय कार्यालयमा काम भन्दा केही संख्यामा कर्मचारी बढि हुदा यो विवाद देखिएको चाहिँ पक्कै हो । कर्मचारी कटौति नै विवादको समाधान हो । अब सञ्चालक समितिले विगतको परफरमेन्स हेर्ने, आर्थिक कारोबारको निष्पक्ष छानबिन गरेर नियतबस गलत गर्ने र कम्पनीलाई नोक्सानस् पुर्याउनेलाई कुनै सुबिधा नदिएर फोर्सफुल एक्जिट गर्ने कि आर्थिक सुबिधा दिएर ग्रेसफुल एक्जिट गर्ने ? भन्ने कुरा हुन्छ । यो विषय सञ्चालक समितिले समय छदै सोच्नु पर्ने काम हो ।

मर्जरपछि मिडियामा धेरैथरीका कुरा आए । केही समस्या पनि भएर हो कि ?

फल लागेको रुख मै ढुगां हान्ने हो । उतार–चढाव भएन भने जीवनको अर्थ रहदैन । विगतमा कम्पनीका विविध विषयमा आएका केही समाचार हामी भित्रकै असन्तुष्ट र तेरो–मेरो सोच भएका कर्मचारीबाट प्रायोजित रुपमा आएका समाचार हो । बीमा प्राधिकरणले भ्यालुएसन र वासलात स्वीकृत गरिसकेको अवस्था छ ।

मर्जर भइसके पछि पत्ता लागेको विगतको केही अनियमितताबाट आत्तिएकाहरु आफूलाई सहि देखाउन अरुलाई बदनाम गर्दै छन् । मेहनत गरेर काम गर्ने कर्मचारीको मनोबल खसाल्न कहिले तीन महिना पछि त कहिले साधारण सभा पछि छोड्ने छोडाउने अनर्गल प्रचार गर्दैछन् । यि कुरामा कुनै सत्यता छैन । सबै वाहियात कुरा हुन् ।

साधारणसभा पछि व्यवस्थापन परिवर्तन हुनसक्छ भन्ने बाहिर आएका कुराहरु केवल हल्लामात्रै हुन् त ?

देश अहिले आर्थिक संकटमा छ । सजिलो बेलामा कम्पनी चलाए जसरी अहिले चलाउन सम्भव छैन । त्यसैले पनि अहिले बैंक–बीमाबाट धेरै कार्यकारी प्रमुखहरु आउट हुँदै छन् । ईमान्दार, संकटको बेला सक्षम नेतृत्व दिन सक्ने र भिजन भएको आटिलो ब्यक्तिले मात्र अब कम्पनी चलाउन सक्छन् ।

पाचँ अर्बको प्रभु महालक्ष्मी लाईफको सञ्चालकहरुले पनि साधारण सभा पछि लगानीको सुरक्षा र उचित प्रतिफलको लागि काम गर्न सक्ने सहि नेतृत्वलाई साथ दिने बिस्वास गर्न सकिन्छ । एस म्यान प्रवृतिलाई साथ दिएर लगानी डुबाउने गरि आफ्नो खुट्टामा आफै बन्चरो कसैले हान्दैन होला । त्यसैले अहिले नै अन्यथा सोच्नु गलत हुन्छ ।

आगामी साधारणसभामा सञ्चालकहरुको निर्वाचन पनि छ क्या रे । आगामी संरचना कस्तो बन्ला ?

मर्ज भएका दुबै कम्पनीको शेयरधनीहरुको सहमतिमा समय दिन सक्ने व्यवसायिक सोच भएको सञ्चालक समिति बनोस भन्ने हाम्रो चाहना छ । व्यवसाय गर्ने संस्थामा विवाद नहोस, निर्बिरोध निर्वाचन सम्पन्न होस् । सञ्चालक समितिको निर्देशनमा कम्पनीले सहजिकरण गर्ने हो । हामी कर्मचारी निर्वाचनमा लाग्न मिल्दैन र लाग्नु पनि हुदैन भन्ने मेरो मान्यता रहेको छ ।

मर्जर सहमतिमा एफपीओको व्यवस्था हुदाहुँदै १७ प्रतिशत हकप्रदको घोषणा गर्नु भयो । कुरा अलि मिलेन जस्तो लाग्यो नि ?

मर्जर सहमतिमा एफपीओबाट पाचँ अर्ब पुँजी पुर्याउन भएको निर्णय दुबैको साधारण सभाबाट पास भएको पक्कै हो । तर मर्ज भइसके पछि हाम्रो सञ्चालक समितिले पारित गरेको निर्णय कार्यान्वयन गराउने दायित्व पनि हाम्रै हो नि । त्यहीँ कर्तब्य पूरा गरेका हौ । तर पनि लामो समयदेखि काम गरिरहेका कर्मचारीहरुको शेयर पाउने अधिकार र सुविधाको संरक्षण गर्ने गरी गरिएमा धेरै राम्रो हुने थियो भन्ने चाहिँ लाग्छ ।

साविकका दुबै कम्पनी मर्ज हुदाँ आपसी सहमतिमा तपाईलाई चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरिएको छ । लगानीकर्ता र बिमितलाई आश्वस्त पार्न तपाईको आगामि योजना के छ ?

मर्जर पछि काम गर्ने दुबै कम्पनीका कर्मचारीको सोच र संस्कारलाई एकीकृत गरेर सिनर्जि ल्याउनु पहिलो प्राथमिकता हुनेछ । संस्थागत सुशासनलाई बलियो बनाउदै गुणस्तरीय बीमा ब्यवसाय गर्नु दोश्रो काम हुनेछ । जनचाहना अनुसार नयाँ पोलिसी ल्याई व्यवसाय वृद्धि गर्नु तथा ०७९/८० को एकीकृत कारोबारबाट जति सक्दो बढि लाभाशं दिने कार्यक्रम बनाईएको छ । साथै बीमा प्राधिकरणको स्वीकृतिमा संस्थापक शेयरको केही भाग सर्वसाधारणमा परिणत गरि लगानिकर्तालाई थप फाईदा दिने योजना पनि बनाएका छौँ ।

अन्तमा, ६६ वर्ष लाग्नु भयो अझै कति वर्ष कार्यकारी प्रमुख भएर कम्पनी हाक्ने रहर छ ?

ईक्षाशक्ति बलियो छ । काम गर्ने क्षमता पनि छ भने उमेरको नम्बरले कुनै माने राख्दैन् । साबिक महालक्ष्मी र प्रभु लाईफका लगानीकर्ताले म माथि ठूलो विस्वास गरेका छन् । त्यसैले चार बर्षे कार्यकालमा कम्पनीलाई बलियो बनाई लगानिकर्तालाई लगानी रकम बराबर फिर्ता हुने वातावरण बनाउने र त्यसपछि बिदा हुने सोच बनाएको छु ।